शनिवार, जेठ २ २०८३
काठमाडौं, जेठ २ गते । विशेष आवश्यकता भएका विद्यार्थीको शिक्षामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले श्री बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयमा लिफ्ट जडान गरिएको छ । यससँगै दृष्टिविहीन तथा व्हीलचेयर प्रयोगकर्ता विद्यार्थीले विद्यालयका सबै कक्षा कोठामा सहज रूपमा पुग्न सक्ने भएका छन् ।
विद्यालयमा अध्ययनरत पूर्ण तथा अति अशक्त अपाङ्गता भएका, दृष्टिविहीन, अटिजम, बौद्धिक तथा बहुअपाङ्गता भएका बालबालिकाका लागि लिफ्ट जडानले दैनिक सिकाइ गतिविधिमा महत्वपूर्ण सहजता थपेको विद्यालयले जनाएको छ ।
हाल विद्यालयमा श्रवण–दृष्टिविहीन १८ जना सहित ४२ जना विभिन्न प्रकारका अपाङ्गता भएका बालबालिका अध्ययनरत छन् । यस्ता बालबालिकालाई धेरै विद्यालयले भर्ना लिन आनाकानी गर्ने अवस्था रहँदा, श्री बाल व्यवसायी केन्द्र मा.वि.ले भने सबै प्रकारका अपाङ्गता भएका बालबालिकालाई अध्ययनको अवसर प्रदान गर्दै आएको छ ।
विद्यालयले औपचारिक शिक्षासँगै आवश्यक थेरापी सेवा सञ्चालन गर्दै आएको छ । साथै विशेष आवश्यकता भएका बालबालिकाका अभिभावकलाई सिपमूलक तालिम उपलब्ध गराएर आत्मनिर्भर बनाउन सहयोग गर्ने कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले विशेष शारीरिक, सामाजिक तथा मानसिक अवस्था भएका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्न विशेष विद्यालय सञ्चालन र आवश्यक पूर्वाधार विकासलाई प्राथमिकता दिने बताउनुभयो ।
उहाँले “विशेष शारीरिक, सामाजिक तथा मानसिक अवस्था भएका बालबालिकालाई विशेष विद्यालय सञ्चालन गरेर सबै बालबालिकालाई शिक्षामा पहुँच सुनिश्चित गर्नेछौँ,” भन्नुभयो ।
विद्यालयमा लिफ्ट जडानसँगै विशेष आवश्यकता भएका विद्यार्थीका लागि पहुँचयुक्त भौतिक संरचना निर्माण भएको छ । यसले उनीहरूको सिकाइ, आत्मनिर्भरता र विद्यालयमा सक्रिय सहभागिता बढाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । समावेशी शिक्षा, उपचारात्मक सेवा र पहुँचमैत्री पूर्वाधारका कारण श्री बाल व्यवसायी केन्द्र मा.वि. विशेष शिक्षा क्षेत्रमा उदाहरणीय संस्थाका रूपमा अगाडि बढिरहेको देखिन्छ ।