आइतवार, जेठ ३ २०८३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्ति व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन ‘छात्रवृत्ति छनोट समिति’ गठन गरेको छ ।
महानगरका अनुसार वडाध्यक्ष वा उनले तोकेको सदस्यको संयोजकत्वमा रहने समितिमा विद्यालयका प्रधानाध्यापक, विद्यालय निरीक्षक तथा एक जना अभिभावक सदस्य रहने व्यवस्था गरिएको छ । समितिले छात्रवृत्तिका लागि योग्य विद्यार्थी छनोट प्रक्रिया सञ्चालन गर्नेछ ।
महानगरपालिकाले विद्यालयमा अध्ययनरत विद्यार्थी संख्याका आधारमा छात्रवृत्तिको प्रतिशत समेत निर्धारण गरेको छ । ५०० सम्म विद्यार्थी भएका विद्यालयमा १० प्रतिशत, ५०० देखि ८०० सम्म विद्यार्थी भएका विद्यालयमा १२ प्रतिशत तथा ८०० भन्दा बढी विद्यार्थी भएका विद्यालयमा १५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने व्यवस्था गरिएको छ ।
यस वर्ष छात्रवृत्ति व्यवस्थापन तथा छनोट प्रक्रिया सम्पन्न गर्न जेठ महिनाभित्रको समय सीमा तोकिएको महानगरले जनाएको छ । साथै, छात्रवृत्ति वितरण प्रक्रियाको प्रभावकारी कार्यान्वयनका लागि कडाइका साथ अनुगमन गरिने पनि उल्लेख गरिएको छ ।
महानगरको यो व्यवस्थाले छात्रवृत्ति वितरण प्रणालीलाई थप निष्पक्ष र पारदर्शी बनाउँदै वास्तविक आवश्यकता भएका विद्यार्थीसम्म पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।