सोमवार, जेठ ४ २०८३
काठमाडौं । काठमाडौँको सानो भर्याङस्थित कामना इन्टरनेशनल कलेजबाट अध्ययन पूरा गरी उत्तीर्ण भएका विद्यार्थीहरूको समूहले Kamana Alumni Association (कामना पूर्व विद्यार्थी संघ) गठन गरेको छ। पूर्व विद्यार्थीहरूबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने तथा अनुभव, ज्ञान, सीप र व्यावसायिक अवसरहरूको आदानप्रदान गर्ने उद्देश्यले संघ स्थापना गरिएको हो।
कलेजका पूर्व विद्यार्थीहरूलाई एउटै साझा मञ्चमा जोड्दै वर्तमान विद्यार्थीहरूलाई करियर मार्गदर्शन, प्रेरणा तथा नेटवर्क विस्तारमा सहयोग पुर्याउने लक्ष्यसहित संघ गठन गरिएको जनाइएको छ। साथै, कलेज र पूर्व विद्यार्थीबीच निरन्तर सम्बन्ध कायम राख्दै संस्थाको विकास र प्रतिष्ठा अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
गठित सात सदस्यीय कार्यसमितिमा अध्यक्षमा सम्झना कार्की, उपाध्यक्षमा विपिन्द्र भन्तना, सचिवमा घ्याल्साङ तामाङ, कोषाध्यक्षमा अन्किता डाँगी चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा विश्वास कटुवाल, सूर्यबहादुर धामी र इशान सोडारी रहनुभएको छ। संघको सल्लाहकारमा बिदुर भट्टराई र बबिता गुरुङलाई मनोनित गरिएको छ।
कामना फाउन्डेशनका अध्यक्ष पदम प्रसाद भट्टराई, क्याम्पस प्रमुख महेश श्रेष्ठ तथा प्रिन्सिपल नवराज पाण्डेको उपस्थितिमा गठित समितिलाई खादा तथा टीका लगाई सम्मानसमेत गरिएको थियो।
कार्यक्रममा बोल्दै कामना फाउन्डेशनका अध्यक्ष पदम प्रसाद भट्टराईले पूर्व विद्यार्थी संघ गठनले पूर्व विद्यार्थी, वर्तमान विद्यार्थी तथा कलेजबीच सुमधुर सम्बन्ध कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले पूर्व विद्यार्थीहरूले आफ्नो अनुभव, ज्ञान र सीप नयाँ पुस्तासँग साझा गर्न सक्ने भएकाले उनीहरूको शैक्षिक तथा व्यावसायिक विकासमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।
नवनियुक्त सल्लाहकार तथा पदाधिकारीहरूले पनि पूर्व विद्यार्थी संघले कलेजको विकास, छात्रवृत्ति, करियर मार्गदर्शन, तालिम तथा विभिन्न सामाजिक कार्यक्रम सञ्चालनमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार पूर्व विद्यार्थीबीच सहकार्य र नेटवर्क विस्तार हुँदा रोजगार तथा अवसरसम्बन्धी जानकारी आदानप्रदान सहज हुने, कलेजको प्रतिष्ठा बढ्ने र विद्यार्थीहरूमा अपनत्व तथा एकताको भावना विकास हुने अपेक्षा गरिएको छ।
पूर्व विद्यार्थी संघले आगामी दिनमा सामाजिक सेवा, नेतृत्व विकास, शैक्षिक गतिविधि तथा विभिन्न रचनात्मक कार्यक्रममार्फत विद्यार्थी समुदायलाई थप सशक्त बनाउने लक्ष्य लिएको जनाएको छ।