शुक्रवार, जेठ ८ २०८३
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि हालसम्म नविकरण भएका शैक्षिक परामर्शदातृ संस्थाहरूको नामावली सार्वजनिक गरेको छ। मन्त्रालयको शैक्षिक परामर्श प्रमाणीकरण शाखाबाट जारी सूचनाअनुसार मिति २०८३ जेठ ६ गतेको सचिवस्तरीय निर्णय बमोजिम सूची प्रकाशन गरिएको हो।
मन्त्रालयले स्वीकृति प्राप्त संस्थामध्ये नविकरण सम्पन्न गरेका संस्थाहरूको विवरण सार्वजनिक गर्दै शैक्षिक परामर्शलगायत सेवा लिँदा सम्बन्धित संस्थाले उपलब्ध गराउन पाउने स्वीकृत सेवा पहिचान गरेर मात्र सेवा लिन सेवाग्राहीलाई आग्रह गरेको छ।
त्यस्तै, शैक्षिक परामर्शदातृ संस्थाहरूलाई समेत आफूले स्वीकृति पाएको सेवाको सीमाभित्र रहेर सेवा सञ्चालन गर्न निर्देशन दिइएको सूचनामा उल्लेख छ।
मन्त्रालयले विद्यार्थी तथा अभिभावकलाई सुरक्षित, विश्वसनीय र स्वीकृत शैक्षिक परामर्श सेवा सुनिश्चित गर्ने उद्देश्यले सूची सार्वजनिक गरिएको जनाएको छ।
