आइतवार, जेठ १० २०८३
काठमाडौं । विभूति स्कुलले एसईई ग्र्याजुएट २०८२ को दीक्षान्त समारोह सम्पन्न गर्दै उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई सम्मान गरेको छ। विद्यालयले यस वर्षको एसईई परीक्षामा सहभागी विद्यार्थीहरूको उपलब्धिलाई उच्च मूल्यांकन गर्दै नगद पुरस्कार, सम्मानपत्र तथा मायाको चिनो प्रदान गरेको हो।

विद्यालयका अनुसार एसईई २०८२ मा सहभागी ४९ जना विद्यार्थीमध्ये ४ जना विद्यार्थीले ४.०० जीपीए हासिल गरेका छन्। उत्कृष्ट नतिजा ल्याउने ती विद्यार्थीलाई जनही रु. २५ हजार नगद पुरस्कारसहित सम्मान गरिएको छ।
त्यस्तै, ३.६२ देखि ३.९६ जीपीए ल्याउने ३४ जना तथा ३.२६ देखि ३.६० जीपीए ल्याउने ११ जना विद्यार्थीलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको विद्यालयले जनाएको छ।

विभूति स्कुलले विगत २०७९ सालदेखि निरन्तर ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी उत्पादन गर्दै आएको छ। लगातार उत्कृष्ट नतिजा हासिल गर्दै विद्यालयले एसईई परीक्षामा देशकै उत्कृष्ट विद्यालयमध्ये आफ्नो पहिचान स्थापित गर्न सफल भएको दाबी गरेको छ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल राजेश श्रेष्ठ ले उत्कृष्ट नतिजाको श्रेय विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको विश्वासलाई जाने बताए। उनले भने, “हामी केवल परीक्षामा राम्रो अंक ल्याउने विद्यार्थी मात्र होइन, जिम्मेवार, सक्षम र नैतिक नागरिक निर्माण गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौं।

'विद्यार्थीहरूको निरन्तर मेहनत र शिक्षक–अभिभावकको सहकार्यले विभूति स्कुलले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको हो। आगामी दिनमा पनि गुणस्तरीय शिक्षालाई थप प्रभावकारी बनाउँदै उत्कृष्टताको यात्रालाई निरन्तरता दिनेछौं' श्रेष्ठले भने।

कार्यक्रममा विद्यार्थीलाई सम्मान प्रदान गर्नुका साथै उनीहरूको आगामी शैक्षिक यात्राको सफलताका लागि शुभकामना व्यक्त गरिएको थियो। दीक्षान्त समारोहमा अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको विद्यालयले जनाएको छ।


