शुक्रवार, जेठ १५ २०८३
काठमाडौं । कलंकीस्थित विज्डम इङ्लिस (एड-मार्क) एकेडेमी को २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। बिहीबार काठमाडौँको कमलादीस्थित एकेडेमी हलमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा एसईई २०८२ परीक्षामा ४ जीपीए प्राप्त गर्न सफल छात्रा प्रजिला खत्रीलाई विद्यालयले नगद रु. १ लाखसहित विशेष सम्मान गरेको थियो। विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्न यस्तो पुरस्कार व्यवस्था गरिएको जनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी विश्वविद्यालयका पूर्व उपकुलपति, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष तथा लोक सेवा आयोगका अध्यक्ष प्रोफेसर डा. गणेशमान गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका सीपेक (CPEC) संयोजक राजेन्द्र दाहाल, सहजकर्ता तथा स्रोत व्यक्ति मणिराम घिमिरे लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथिबाट दीप प्रज्वलन गरी गरिएको थियो भने सञ्चालन माध्यमिक तह संयोजक बद्री प्रसाद अधिकारीले गर्नुभएको थियो। कक्षा ८ की छात्रा दिलिसा भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
सभापति पुरुषोत्तम प्रसाद अधिकारीले विद्यालयले विगत दुई दशकदेखि गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यमा आधारित शिक्षणलाई प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले विद्यालयलाई अझ आधुनिक र प्रविधिमैत्री बनाउने लक्ष्यसहित अघि बढिरहेको धारणा राख्नुभयो।

प्रधानाध्यापक शिव प्रसाद अधिकारीले विद्यालयमा अध्ययनरत करिब २१ सय विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालय परिवार प्रतिबद्ध रहेको उल्लेख गर्दै शैक्षिक उपलब्धिसँगै व्यवहारिक शिक्षामा समेत जोड दिइएको जानकारी दिनुभयो।

प्रमुख अतिथि प्रोफेसर डा. गणेशमान गुरुङले अबको शिक्षा अनुसन्धान, प्रविधि र व्यवहारिक ज्ञानमा आधारित हुनुपर्ने बताउँदै विद्यार्थीलाई सक्षम नागरिक बनाउन विद्यालय र अभिभावकबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति, सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।
