शनिवार, जेठ १६ २०८३
काठमाडौं, जेठ १६ । बुढानिलकण्ठ नगरपालिका–५ स्थित फ्युजन एकेडेमीले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै ‘बधाई, सम्मान एवं विशेष सांस्कृतिक कार्यक्रम–२०८३’ सम्पन्न गरेको छ। कार्यक्रममा एसईईमा ४.०० जिपिए प्राप्त गरेका विद्यार्थी आशिष सिंह धामीलाई नगद ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ।

दार्चुला घर भएका धामीले नर्सरीदेखि नै फ्युजन एकेडेमीमा अध्ययन गरेका थिए। विद्यालयले उनको अध्ययन यात्रामा निरन्तर सहयोग र प्रोत्साहन प्रदान गर्दै आएको थियो। एसईईमा उत्कृष्ट नतिजा हासिल गरेपछि विद्यालयले विशेष समारोहका बीच उनलाई सम्मान गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले आशिषको सफलता मेहनत, अनुशासन र निरन्तर लगनशीलताको प्रतिफल भएको बताए। उनले यस्ता प्रतिभाशाली विद्यार्थीहरूले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने उल्लेख गर्दै स्थानीय सरकारले गुणस्तरीय शिक्षाको विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण दुलालले आशिषको उपलब्धि विद्यालय परिवारका लागि गर्वको विषय भएको बताए। नर्सरीदेखि एउटै विद्यालयमा अध्ययन गरेर ४ जिपिए हासिल गर्नु असाधारण सफलता भएको उल्लेख गर्दै उनले यसले विद्यालयको शैक्षिक गुणस्तर र शिक्षकहरूको समर्पणलाई प्रमाणित गरेको धारणा राखे।
सम्मानित विद्यार्थी आशिष सिंह धामीले आफ्नो सफलताको श्रेय अभिभावक, शिक्षक र विद्यालयलाई दिए। नियमित अध्ययन, समयको उचित व्यवस्थापन र शिक्षकहरूको मार्गदर्शनका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताउँदै उनले आगामी दिनमा पनि अध्ययनलाई निरन्तरता दिँदै देशका लागि योगदान गर्ने लक्ष्य रहेको बताए।

विद्यालयका प्रिन्सिपल कृष्ण भण्डारीले फ्युजन एकेडेमीले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीको समग्र व्यक्तित्व विकासमा विशेष जोड दिँदै आएको बताए। विद्यालयले हालसम्म १७ वटा एसईई ब्याच उत्पादन गरिसकेको जानकारी दिँदै उनले आगामी शैक्षिक सत्रदेखि नर्सरीदेखि कक्षा १ सम्म ‘बुकलेस’ शिक्षण प्रणाली लागू गर्ने योजना सार्वजनिक गरे। उनका अनुसार साना बालबालिकाले अब भारी पुस्तक बोक्नुपर्ने अवस्थाको अन्त्य गर्दै गतिविधिमूलक, सिर्जनात्मक र प्रविधिमैत्री सिकाइ वातावरण निर्माण गरिनेछ।

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष कृष्ण शाह ठकुरी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रमअन्तर्गत गीत, नृत्य, नाटक तथा अन्य सिर्जनात्मक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो। साथै उत्कृष्ट विद्यार्थी र विद्यालयको प्रगतिमा योगदान पुर्याउने शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो

फ्युजन एकेडेमीले विद्यार्थीको क्षमता पहिचान, प्रोत्साहन र आधुनिक शिक्षण पद्धतिलाई प्राथमिकता दिँदै गुणस्तरीय शिक्षाका क्षेत्रमा आफूलाई स्थापित गर्दै आएको जनाएको छ। आशिष सिंह धामीको उपलब्धिले विद्यालयको शैक्षिक यात्रामा अर्को गौरवपूर्ण अध्याय थपेको विद्यालय परिवारको विश्वास छ।



