शनिवार, श्रावण २ २०७८
परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको बेला हालसम्म २५ जिल्लाले विद्यार्थी मुल्यांकन विवरण पठाएको जानकारी दिएको छ।
प्रतिकुल परिस्थितिको कारण बिद्यालयलाई नतिजा विवरणहरु पठाउन समस्या भएपनी साउनको पहिलो हप्ताभित्र बाँकी जिल्लाले समेत राष्ट्रिय परिक्षा बोर्डमा पठाइसक्ने बुझिएको छ। यसाघि बोर्डले साउन मसान्तभित्र एसईई नतिजा सार्वजनिक गर्ने घोषणा गरिसकेको छ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ अनुसार विद्यार्थीको मूल्यांकन नतिजाको हार्डकपी र सफ्टकपी विद्यालयले असार २० भित्र जिल्ला शिक्षा विकास समन्वय इकाइमा बुझाउनु पर्ने व्यवस्था गरेको थियो । र जिल्ला शिक्षा समन्वय इकाइले असार मसान्तभित्र राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयमा बुझाउने व्यवस्था थियो ।
कार्यविधि अनुसार एसईईको मूल्याङ्कन गर्दा विषय शिक्षकले विद्यार्थीको निर्माणात्मक मूल्याङ्कन २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायतको विषय), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मककोलागि २५ प्रतिशत अंक दिन पाउने व्यवस्था गरेको छ।
प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निर्णयात्मक ७५ प्रतिशत मूल्याङ्कन आधार तोकिएको छ ।
त्यसैगरी कोभिड महामारिको कोखिमका कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा एसइई आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि ९० प्रतिशतमाथिको नतिजा ल्याउने विद्यार्थी प्रशस्तै रहेको पाइएको छ। हालसम्म प्राप्त नतिजा विवरण अनुसार धेरै विद्यार्थी हरुको अंक ८० देखि ९० प्रतिशत ल्याउने विद्यार्थी संख्या धेरै देखिएको छ।
काठमाडौंबाट १ हजार ७ विद्यालयका ३७ हजार ३ सय विद्यार्थीले एसइईमा सहभागिता जनाएको शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंले जनाएको छ। यो जिल्लामा ९० प्रतिशत ल्याउने विद्यार्थीहरू थुप्रै छन्। एकाइ प्रमुख नन्दलाल पौडेलले विगतमा भन्दा हाल उत्कृष्ट अंक ल्याउनेको संख्या बढेको बताए।
विगतमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितमा परीक्षा सञ्चालन गर्दा केहीले मात्र ८०–९० प्रतिशत अंक ल्याउँथे भने हाल यो संख्या प्रशस्त रहेको उनको भनाइ छ।