सोमवार, जेठ १८ २०८३
काठमाडौँ, जेठ १८ — काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ। नतिजाअनुसार परीक्षामा सहभागीमध्ये १४ हजार ५७ जना विद्यार्थी प्रारम्भिक रूपमा छनोट भएका छन्।
महानगरको छात्रवृत्ति परीक्षा समितिले न्यूनतम ४० अङ्क प्राप्त गरेका विद्यार्थीहरूको प्रारम्भिक योग्यता क्रमसहितको सूची प्रकाशन गरेको हो। उक्त छात्रवृत्ति महानगरपालिका क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा अध्ययन गर्न प्रदान गरिनेछ। नतिजा हेर्न विद्यार्थीहरूले अनलाइन आवेदन भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र मोबाइल वा इमेलमार्फत प्राप्त पासवर्ड प्रयोग गरी स्कोर कार्ड डाउनलोड तथा प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाइएको महानगरले जनाएको छ।
शिक्षा अधिकारी तथा परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार प्रकाशित नतिजा प्रारम्भिक भएकाले यसमा चित्त नबुझेका विद्यार्थीलाई पुनर्योगको अवसर दिइएको छ। विद्यार्थीहरूले जेठ २० गते कार्यालय समयभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन्। पुनर्योग प्रक्रिया सम्पन्न भएपछि अन्तिम योग्यता सूची प्रकाशन गरिने र त्यसपछि मात्र विद्यालय म्याचिङ तथा विद्यार्थी मनोनयन सिफारिस प्रक्रिया सुरु हुने जनाइएको छ।
परीक्षामा एक विद्यार्थीले ९२ अङ्क प्राप्त गर्दै सर्वाधिक अंक ल्याएका छन् भने दोस्रो स्थानमा रहेका एक विद्यार्थीले ९१ अङ्क प्राप्त गरेका छन्। त्यस्तै पाँच जना विद्यार्थीले ९० अङ्क प्राप्त गरी तेस्रो स्थान हासिल गरेका छन्।
पुनर्योगका लागि १ हजार रुपैयाँ राजस्व दाखिला गरी प्रवेशपत्रको प्रतिलिपिसहित शिक्षा विभागमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। साथै आवेदन फाराममा नाम, लिङ्ग वा आरक्षणसम्बन्धी विवरण फरक परेमा आवश्यक प्रमाणसहित जेठ २० गतेभित्र सच्याउन निवेदन दिन सकिनेछ। तर नयाँ आरक्षण क्षेत्र थप गर्न भने अनुमति नहुने महानगरले स्पष्ट पारेको छ।
महानगरपालिकाले छात्रवृत्ति कार्यक्रमका लागि वैशाख ३ गते सूचना प्रकाशित गरेको थियो। ८३ वटा परीक्षा केन्द्रमार्फत सञ्चालन गरिएको परीक्षाका लागि २६ हजार ८८८ जनाले आवेदन दिएका थिए। तीमध्ये २६ हजार ६०३ जनाको आवेदन स्वीकृत भएको थियो भने २२ हजार २० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
शिक्षामा समान पहुँच र अवसर सुनिश्चित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको छात्रवृत्ति कार्यक्रमप्रति विद्यार्थी तथा अभिभावकको उल्लेखनीय आकर्षण देखिएको महानगरपालिकाले जनाएको छ।