मंगलवार, जेठ १९ २०८३
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले देशभरका विद्यालयहरूमा सार्वजनिक बिदाको एकरूपता कायम गर्न शनिबार र आइतबार बिदा लागू गर्ने विषयमा आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको पत्रमार्फत नेपाल सरकारको निर्णयअनुसार २०८२ चैत २३ गतेदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने व्यवस्था लागू भएको स्मरण गराएको छ।
मन्त्रालयका अनुसार सरकारको उक्त निर्णयमा शैक्षिक संस्थाहरू पनि समेटिएको हुँदा देशभरका सबै विद्यालयमा समान रूपमा बिदा व्यवस्था लागू गर्न स्थानीय तहहरूसँग समन्वय गर्न आवश्यक देखिएको हो। यस सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालयको २०८३ जेठ ११ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार सम्बन्धित निकायलाई पत्राचार गरिएको जनाएको छ। हाल विभिन्न स्थानीय तह र विद्यालयहरूमा बिदा व्यवस्थामा फरक–फरक अभ्यास भइरहेका बेला मन्त्रालयको यो निर्देशनले विद्यालय सञ्चालन तथा सार्वजनिक बिदा व्यवस्थापनमा एकरूपता ल्याउने अपेक्षा गरिएको छ।
शिक्षा क्षेत्रका सरोकारवालाहरूले दुई दिने साप्ताहिक बिदाले विद्यार्थी, शिक्षक तथा कर्मचारीको कार्य–जीवन सन्तुलनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। यद्यपि, शैक्षिक सत्र, पठनपाठनको समय व्यवस्थापन तथा पाठ्यक्रम पूरा गर्ने विषयमा विद्यालयहरूले आवश्यक योजना बनाउनुपर्ने देखिएको छ।
मन्त्रालयको पछिल्लो निर्णयसँगै अब देशभरका विद्यालयहरूमा पनि सरकारी कार्यालयसरह शनिबार र आइतबार नियमित साप्ताहिक बिदा कायम हुने प्रक्रियाले थप गति लिने अपेक्षा गरिएको छ।
