बुधवार, जेठ २० २०८३
काठमाडौँ, २० जेठ – प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कामलाई थप प्रभावकारी र विषयगत बनाउन ६ वटा उपसमिति गठन गरेको छ। समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले उपसमितिहरूको कार्यविधि र आचारसंहिता समेत पारित गरेको हो।
समितिकी सभापति डा. ओजस्वी शेरचन का अनुसार प्रतिनिधिसभा नियमावलीअनुसार गठन गरिएका सबै उपसमितिहरू समितिको मातहतमा रहनेछन्। उपसमितिहरूको संयोजन र समन्वयको जिम्मेवारी पनि सभापतिमार्फत सञ्चालन हुने व्यवस्था गरिएको छ।
बैठकले परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षासम्बन्धी अध्ययन उपसमिति, विज्ञान, प्रविधि तथा नवप्रवर्द्धन अध्ययन उपसमिति, सूचना तथा सञ्चार अध्ययन उपसमिति तथा खेलकुद अध्ययन उपसमिति गठन गरेको छ।
शिक्षासम्बन्धी अध्ययन उपसमितिमा सांसदहरू गणेश पौडेल, गुरुप्रसाद बराल, जगतप्रसाद जोशी, राधिका रम्तेल र रमेशकुमार मल्ललाई समावेश गरिएको छ। यस उपसमितिले विद्यालय शिक्षा, उच्च शिक्षा, पाठ्यक्रम, शिक्षक व्यवस्थापन तथा शैक्षिक नीतिसम्बन्धी विषयमा अध्ययन तथा सुझाव दिने अपेक्षा गरिएको छ।
त्यस्तै विज्ञान, प्रविधि तथा नवप्रवर्द्धन, स्वास्थ्य, सञ्चार तथा खेलकुद क्षेत्रका लागि पनि छुट्टाछुट्टै अध्ययन उपसमिति गठन गरिएको छ। उपसमितिहरूले सम्बन्धित क्षेत्रका नीति, कार्यक्रम र कार्यान्वयन अवस्थाको अध्ययन, अनुगमन तथा सुधारका लागि सुझाव प्रस्तुत गर्नेछन्।
समितिले विषयगत अध्ययन र निगरानीलाई संस्थागत बनाउने उद्देश्यसहित उपसमिति गठन गरेको जनाएको छ। यस कदमले शिक्षा, स्वास्थ्य, सूचना प्रविधि तथा खेलकुद क्षेत्रका मुद्दाहरूमा संसदीय निगरानी र नीतिगत बहसलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।