शुक्रवार, जेठ २२ २०८३
काठमाडौँ — काठमाडौँ महानगरपालिका–१५, विजेश्वरिस्थित द सनसाइन स्कुल तथा कलेजले विश्व वातावरण दिवस विभिन्न सचेतनामूलक तथा सिर्जनात्मक कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। विद्यार्थीहरूमा वातावरण संरक्षणप्रति जिम्मेवारीबोध गराउने उद्देश्यले विद्यालयले तहगत तथा कक्षागत रूपमा विविध कार्यक्रम आयोजना गरेको हो।
विद्यालयका अनुसार कक्षा ८, ९ र १० का विद्यार्थीहरूका लागि प्रभातफेरी, वातावरण संरक्षणसम्बन्धी सचेतना अभियान तथा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो। यस्तै कक्षा ५, ६ र ७ का विद्यार्थीहरूले वृक्षारोपण तथा सरसफाइ कार्यक्रममा सहभागिता जनाएका थिए।

कक्षा २, ३ र ४ का विद्यार्थीहरूका लागि वातावरण सरसफाइ, विद्यालय सरसफाइ तथा वातावरणीय सचेतना अभिवृद्धिसम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो। कक्षा १ र २ का विद्यार्थीहरूलाई वातावरण संरक्षण, सरसफाइ तथा स्वस्थ बानीब्यहोराबारे जानकारीमूलक कार्यशाला सञ्चालन गरिएको थियो।
पूर्वप्राथमिक तहका बालबालिकाहरूका लागि फोहोर व्यवस्थापन, बिरुवाको हेरचाह तथा संरक्षणसम्बन्धी गतिविधिसँगै रङ्ग भर्ने र चित्रकला कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमहरू विभिन्न तहका इन्चार्ज तथा शिक्षकहरूको समन्वय र व्यवस्थापनमा सम्पन्न भएका थिए। कक्षा ८, ९ र १० का कार्यक्रम विद्यालयका भाइस प्रिन्सिपल तेजप्रसाद भण्डारीको नेतृत्वमा सम्पन्न भएको थियो। कक्षा ५, ६ र ७ का कार्यक्रम विद्यालयका कोर्डिनेटर तथा ईसीए इन्चार्ज दिनेश क्षेत्री र सञ्जीव थापाको नेतृत्वमा सञ्चालन गरिएको थियो।
त्यसैगरी कक्षा २, ३ र ४ तथा कक्षा १ र २ का कार्यक्रम ईसीए तथा एकेडेमिक इन्चार्ज पुनम मिश्रको नेतृत्वमा सम्पन्न भएको थियो भने पूर्वप्राथमिक तहका कार्यक्रमहरू प्री–इन्चार्ज नम्रता शाहीको नेतृत्वमा सञ्चालन गरिएको थियो।

कार्यक्रमबारे प्रकाश पार्दै विद्यालयका प्राचार्य बाबुराम गौतमले बालबालिकालाई वातावरण, समाज र दैनिक जीवनसँग जोडेर शिक्षण सिकाइ गराउँदा उनीहरूको व्यवहारिक ज्ञान र जिम्मेवारीबोधमा वृद्धि हुने बताउनुभयो। उहाँले विद्यालयमा वातावरणमैत्री शिक्षण सिकाइलाई प्राथमिकता दिँदै विद्यार्थीहरूमा वातावरण संरक्षणको संस्कार विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
विद्यालयले पछिल्ला वर्षहरूमा यस्ता रचनात्मक तथा व्यवहारिक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको र यसले अभिभावक तथा समुदायको विद्यालयप्रतिको विश्वास र चासो समेत बढाएको जनाएको छ।
