शनिवार, जेठ २३ २०८३
काठमाडौं, जेठ २३ – काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूको छात्रवृत्ति छनोट परीक्षाको पहिलो मनोनयन सूची (म्याचिङ लिष्ट) सार्वजनिक गरेको छ। प्रकाशित सूचीअनुसार ३ हजार ७३५ जना विद्यार्थी विभिन्न शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययनका लागि सिफारिस भएका छन्।
महानगरपालिकाले यसअघि प्रकाशित अन्तिम योग्यता क्रम, विद्यार्थीले आवेदन दिँदा छनोट गरेको विषय तथा शिक्षण संस्थाको प्राथमिकता र निर्धारित कोटा अनुसार परीक्षा समितिको जेठ २२ गतेको निर्णयका आधारमा म्याचिङ लिष्ट प्रकाशन गरेको जनाएको छ।
मनोनयनमा परेका विद्यार्थीहरूले छात्रवृत्ति पोर्टलबाट मनोनयन पत्र डाउनलोड गरी जेठ २७ गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नुपर्नेछ। समयसीमाभित्र भर्ना नभए छात्रवृत्तिमा अध्ययन गर्ने अधिकार स्वतः रद्द हुने परीक्षा समितिले जनाएको छ। साथै, मनोनयन भएको शिक्षण संस्था परिवर्तन गर्न नपाइने स्पष्ट गरिएको छ।
प्रकाशित सूचीअनुसार शिक्षामा ६, मानविकीमा १२, कानुनमा ५०, व्यवस्थापनमा १ हजार ४०१ र विज्ञानमा २ हजार २६६ विद्यार्थी गरी कुल ३ हजार ७३५ जना सिफारिस भएका छन्। विभिन्न आरक्षण तथा समावेशी समूहअन्तर्गत पनि विद्यार्थीहरू छनोट भएका छन्। महानगरपालिकाले यस वर्ष १४५ शिक्षण संस्थाका लागि ४ हजार ८५७ छात्रवृत्ति कोटा निर्धारण गरेको छ। तीमध्ये विज्ञानतर्फ २ हजार ३७१, व्यवस्थापनमा १ हजार ५४९, शिक्षामा ७, मानविकीमा ४९ र कानुनमा ७५ कोटा रहेका छन्।
जेठ १७ गते सम्पन्न छात्रवृत्ति छनोट परीक्षाको अन्तिम नतिजापछि पुनर्योग तथा विवरण सच्याउने प्रक्रियासमेत पूरा भइसकेको छ। पहिलो चरणमा मनोनयन भएका विद्यार्थीहरू भर्ना नभई रिक्त भएका सिटहरूमा योग्यता क्रम र प्राथमिकताका आधारमा दोस्रो मनोनयन सूची जेठ २८ गतेपछि सार्वजनिक गरिने परीक्षा समितिले जनाएको छ।
