शनिवार, जेठ २३ २०८३
काठमाडौं, जेठ २३। काठमाडौंको बाफलस्थित काठमाडौं बर्नहार्ट कलेजमा “Climate Change, Digital Transformation and Carbon Emission Reduction in Nepal” (नेपालमा जलवायु परिवर्तन, डिजिटल रूपान्तरण र कार्बन उत्सर्जन न्यूनीकरण) विषयक दुईदिने राष्ट्रिय कार्यशाला शुक्रबारदेखि सुरु भएको छ। “Pioneering Low-Carbon Pathways through Digital Innovation” नारासहित आयोजित कार्यशालाको आयोजना काठमाडौं बर्नहार्ट कलेजले गरेको हो।

कार्यक्रमको उद्देश्य जलवायु परिवर्तन, कार्बन उत्सर्जन न्यूनीकरण तथा डिजिटल प्रविधिको उपयोगमार्फत दिगो विकासका सम्भावनाबारे ज्ञान आदान–प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।
उक्त कार्यक्रम विश्वविद्यालय अनुदान आयोग (UGC) को सहयोग र नेपाल डिजिटल एसोसिएसन को प्राविधिक सहकार्य रहेको छ। कार्यशालामा देशका विभिन्न विश्वविद्यालय तथा क्याम्पसका विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा विज्ञहरूको सहभागिता रहेको छ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना अयोगका सदस्य प्रा. डा. संजय आचार्यले जलवायु परिवर्तन विश्वव्यापी चुनौतीका रूपमा देखा परेको उल्लेख गर्दै यसको प्रभाव न्यूनीकरणका लागि डिजिटल प्रविधिको प्रभावकारी उपयोग आवश्यक रहेको बताउनुभयो। उहाँले नेपालले अन्तर्राष्ट्रिय जलवायु प्रतिबद्धताअनुसार कार्बन उत्सर्जन न्यूनीकरणका क्षेत्रमा थप सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो । शिक्षा, अनुसन्धान र नवप्रवर्तनमार्फत दिगो विकासका लक्ष्य हासिल गर्न यस्ता कार्यशालाले महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो।

उक्त कार्यक्रमका सञ्चालक, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान, पूर्वाञ्चल क्याम्पस धरानका उप–प्राध्यापक श्री अनिल बर्माले पहिलो दिनको प्लेनरी सत्रमा डिजिटल क्लाइमेट भिजन, डिजिटल क्लाइमेट इन्फ्रास्ट्रक्चर तथा डेटा इकोसिस्टम, फाइनान्स र कार्बन मार्केट, गभर्नेन्स तथा संस्थागत संरचना, साथै Artificial Intelligence (AI) र National Coordination Mechanism सम्बन्धी विषयहरूमा छलफल सञ्चालन गर्नुभएको थियो।
कार्यशालाको एक सत्रमा कृषि, ऊर्जा, यातायात तथा उद्योग क्षेत्रलाई केन्द्रमा राखी कार्बन उत्सर्जन न्यूनीकरणमा डिजिटल रूपान्तरणले खेल्न सक्ने भूमिकाबारे कार्यशाला सञ्चालन गरिएको थियो। उक्त छलफलमा प्यानेलिस्टका रूपमा प्रा. डा. मदन कोइराला, उपप्राध्यापक डा. मनोज ठाकुर तथा उपप्राध्यापक कुमार प्रसुनले आफ्ना विचार प्रस्तुत गर्नुभयो ।

नेपाल डिजिटल एसोसिएसनका कार्यवाहक अध्यक्ष जगदीश रौनियारले डिजिटल प्रविधि जलवायु परिवर्तनका चुनौतीहरूको समाधान खोज्ने प्रभावकारी माध्यम बन्न सक्ने बताउनुभयो। उहाँले डेटा–आधारित निर्णय प्रणाली, कृत्रिम बुद्धिमत्ता तथा डिजिटल प्लेटफर्महरूको प्रयोगमार्फत कार्बन उत्सर्जनको मापन, निगरानी तथा न्यूनीकरणका कार्यहरूलाई अझ प्रभावकारी बनाउन सकिने उल्लेख गर्नुभयो।
उक्त कार्यशालाले जलवायु परिवर्तनका असर न्यूनीकरण, दिगो विकास र डिजिटल प्रविधिको प्रभावकारी उपयोगका विषयमा राष्ट्रिय नीति तथा अनुसन्धानलाई सचेत र सक्रिय बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।

