Jul 27 2026 | २०८३, श्रावण ११ गते

मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह असार ३ गते

मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह असार ३ गते

  • 217
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह असार ३ गते

    सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह आगामी असार ३ गते आयोजना हुने भएको छ। विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै असार ३ गते बुधबार बिहान १० बजे विश्वविद्यालयको केन्द्रीय कार्यालय, वीरेन्द्रनगर–८ कुइनेपानीमा दीक्षान्त समारोह आयोजना गरिने जनाएको हो।

    सूचनाअनुसार दीक्षान्त समारोहमा सहभागी हुन आवेदन पेश गरी स्वीकृत भएका विद्यार्थीहरूले समारोहको दिन बिहान ९ बजेसम्म कार्यक्रमस्थलमा प्रवेश गरिसक्नुपर्नेछ। सहभागी विद्यार्थीहरूले गाउन सेट वा दीक्षान्त आवेदन शुल्क तिरेको रसिद देखाएर तोकिएको स्थानमा बस्नुपर्ने व्यवस्था गरिएको छ।

    विश्वविद्यालयले समारोहकै दिन गाउन वितरण नगरिने जनाएको छ। त्यसैले विद्यार्थीहरूले जेठ ३१ गतेदेखि असार २ गतेसम्म परीक्षा व्यवस्थापन कार्यालयबाट गाउन, स्कार्फ र टोपीसहितको गाउन सेट अनिवार्य रूपमा प्राप्त गरिसक्नुपर्नेछ। गाउन सेट लिन नागरिकताको प्रतिलिपि वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।

    दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरूले आफ्नै पोसाकमाथि विश्वविद्यालयले उपलब्ध गराएको गाउन सेट लगाउनुपर्नेछ। गाउन सेट नलगाएका विद्यार्थीलाई दीक्षित हुने विद्यार्थीहरूको समूहमा बस्न अनुमति नदिइने विश्वविद्यालयले स्पष्ट पारेको छ।

    समारोहमा दीक्षान्त प्रमाणपत्र तोकिएका काउन्टरमार्फत वितरण गरिनेछ। समारोहमा सहभागी हुन आवेदन दिएका तर उपस्थित हुन नसकेका विद्यार्थीहरूले भने कार्यक्रम सम्पन्न भएपछि कार्यालय खुलेको दिन परीक्षा व्यवस्थापन कार्यालयबाट प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्।

    त्यस्तै, गाउन सेटको धरौटी रकम फिर्ताका लागि विद्यार्थीहरूले असार ५ गतेदेखि ११ गतेसम्म परीक्षा व्यवस्थापन कार्यालयमा गाउन सेट फिर्ता गर्नुपर्नेछ। आवश्यक कागजात तथा निवेदन पेश गरेपछि धरौटी रकम सम्बन्धित विद्यार्थीको बैंक खातामा फिर्ता गरिने विश्वविद्यालयले जनाएको छ। तोकिएको अवधिभित्र गाउन सेट फिर्ता नगर्ने विद्यार्थीको धरौटी रकम फिर्ता नहुने पनि सूचनामा उल्लेख गरिएको छ।

    विश्वविद्यालयले आवेदन दिएका विद्यार्थीहरूको फोटो, प्रमाणपत्र वा नागरिकतामा कुनै त्रुटि वा कैफियत देखिएमा इमेलमार्फत जानकारी गराइने जनाएको छ। त्यस्ता विद्यार्थीहरूले आवश्यक प्रक्रिया पूरा गरी जेठ २९ गतेभित्र परीक्षा व्यवस्थापन कार्यालयमा सम्पर्क गर्नुपर्ने अन्यथा दीक्षान्त समारोहमा सहभागी हुन नपाउने जनाइएको छ।

    images
    आइतवार, जेठ २४ २०८३०८:३०:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार