Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिरहामा जफत गरिएका मोबाइल नष्ट गरिएको विरोधमा संयुक्त विद्यार्थी संगठन आन्दोलित

सिरहामा जफत गरिएका मोबाइल नष्ट गरिएको विरोधमा संयुक्त विद्यार्थी संगठन आन्दोलित

  • 256
    SHARES

  • सिरहामा जफत गरिएका मोबाइल नष्ट गरिएको विरोधमा संयुक्त विद्यार्थी संगठन आन्दोलित

    सिरहा । माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाका क्रममा परीक्षार्थीहरूबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी नष्ट गरिएको घटनाप्रति सिरहाका विद्यार्थी संगठनहरू आन्दोलित बनेका छन्। संयुक्त विद्यार्थी संगठनले उक्त घटनालाई विद्यार्थीको व्यक्तिगत सम्पत्तिमाथिको अन्यायपूर्ण हस्तक्षेप भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो।

    जिल्ला परीक्षा समन्वय समितिको निर्णयअनुसार परीक्षाका बेला बरामद गरिएका ७ थान आईफोन, ४८९ थान एन्ड्रोइड मोबाइल फोन तथा ५ थान स्मार्ट वाच गरी करिब ५०० उपकरणलाई जिल्ला प्रशासन कार्यालय सिरहाको समन्वयमा पानीमा डुबाएर नष्ट गरिएको थियो। ती सामग्रीको अनुमानित बजार मूल्य करिब एक करोड रुपैयाँ रहेको बताइएको छ।

    परीक्षाको मर्यादा कायम राख्ने उद्देश्यले उक्त कदम चालिएको प्रशासनको दाबी भए पनि विद्यार्थी, अभिभावक तथा कानुन व्यवसायीहरूले यसलाई कानुनी प्रक्रिया विपरीत व्यक्तिगत सम्पत्तिमाथिको दमनकारी कार्यको संज्ञा दिएका छन्। उनीहरूले जफत गरिएका सामग्री परीक्षा सम्पन्न भएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुपर्नेमा पूर्ण रूपमा नष्ट गरिनु गम्भीर विषय भएको बताएका छन्।

    घटनाको विरोधस्वरूप संयुक्त विद्यार्थी संगठनले जेठ २५ गते सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिरहाको मुख्य प्रवेशद्वार अगाडि बृहत् विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। संगठनले सार्वजनिक गरेको सूचनामा जिल्लाभरका विद्यार्थीलाई आन्दोलनमा सहभागी भई ऐक्यबद्धता जनाउन आग्रह गरिएको छ।

    विद्यार्थी नेताहरूले जफत गरिएका मोबाइल तथा अन्य सामग्रीको उचित मूल्याङ्कन गरी सम्बन्धित विद्यार्थीलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। साथै, घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार पक्षलाई कानुनी दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ।

    विद्यार्थी संगठनले "विद्यार्थीलाई न्याय र क्षतिपूर्ति सुनिश्चित गर" तथा "अन्यायविरुद्ध एकजुट बनौं" भन्ने नारासहित आन्दोलन अघि बढाउने जनाएको छ। घटनाले परीक्षा व्यवस्थापन, विद्यार्थी अधिकार र कानुनी प्रक्रियाबारे नयाँ बहस सिर्जना गरेको छ।

    images
    आइतवार, जेठ २४ २०८३१२:१५:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार