आइतवार, जेठ २४ २०८३
काठमाडौँ । नागार्जुन नगरपालिका–७, रामकोटस्थित माइलस्टोन युथ इङ्ग्लिस स्कुलले विद्यार्थीहरूमा सकारात्मक सोच, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले ‘सक्सेस माइन्डसेट’ विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयको आयोजनामा थापा पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा करिब ६०० विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो।

प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक जीवन प्रशिक्षक तथा मोटिभेसनल स्पिकर ईश्वर श्रेष्ठले विद्यार्थीहरूलाई सफल जीवनका लागि आवश्यक सोच, लक्ष्य निर्धारण, समय व्यवस्थापन, नेतृत्व विकास र आत्मविश्वास अभिवृद्धिबारे प्रशिक्षण दिएका थिए। उनले सफलताको आधार सकारात्मक सोच, निरन्तर प्रयास र स्पष्ट लक्ष्य भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई आफ्नो क्षमता पहिचान गरी अघि बढ्न प्रेरित गरे।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल शिवराम गिरिले विद्यालयले शैक्षिक उपलब्धिसँगै विद्यार्थीहरूको व्यक्तित्व विकासलाई पनि प्राथमिकतामा राख्दै आएको बताए। यस्ता प्रशिक्षणले विद्यार्थीहरूलाई भविष्यप्रति जिम्मेवार, आत्मविश्वासी र लक्ष्यकेन्द्रित बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनय गिरिले बदलिँदो समयअनुसार विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र जीवनोपयोगी सीप प्रदान गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे। उनले शिक्षाले केवल परीक्षा उत्तीर्ण गराउने नभई जीवनमा सफल बन्ने आधार तयार गर्नुपर्ने बताए।
त्यस्तै, भाइस प्रिन्सिपल दिनेश भट्टराईले विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि नियमित रूपमा यस्ता प्रेरणादायी तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। उनले सिकाइलाई व्यवहारमा उतार्न सक्ने क्षमता विकास गर्नु आजको शिक्षाको मुख्य आवश्यकता भएको बताए।

प्रशिक्षणका क्रममा विद्यार्थीहरूले विभिन्न अन्तरक्रियात्मक गतिविधि, समूह छलफल तथा प्रेरणादायी सत्रमार्फत नेतृत्व, सञ्चार कला, आत्मअनुशासन र सफलतामुखी सोचसम्बन्धी ज्ञान हासिल गरेका थिए। सहभागी विद्यार्थीहरूले कार्यक्रमलाई अत्यन्त उपयोगी, प्रेरणादायी र जीवनोपयोगी भएको प्रतिक्रिया दिएका थिए।
विद्यालयका अनुसार ‘सक्सेस माइन्डसेट’ प्रशिक्षणले विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहन, सकारात्मक सोच विकास गर्न तथा भविष्यको सफल यात्राका लागि आवश्यक आत्मविश्वास निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
