आइतवार, जेठ २४ २०८३
काठमाडौं । ओडिसी इन्टरनेसनल एकेडेमीले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई सम्मान गर्दै विशेष कार्यक्रम आयोजना गरेको छ। ‘द आर्ट अफ कन्सियस पेरेन्टिङ’ तथा एसईई सम्मान कार्यक्रमको अवसरमा विद्यालयले चार जिपिए प्राप्त गर्ने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो।

विद्यालयका विद्यार्थी मुकेश शर्माले एसईई परीक्षामा ४.०० जीपीए हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गरेका थिए। उनको उपलब्धिको कदरस्वरूप विद्यालयले नगद २० हजार रुपैयाँसहित सम्मान गरेको जनाएको छ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पवित्रा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोखा नगरपालिका–५ का वडाध्यक्ष मदन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा उनले विद्यार्थीको सफलता निरन्तर मेहनत, अनुशासन र अभिभावक–विद्यालयबीचको सहकार्यको परिणाम भएको बताउँदै सम्मानित विद्यार्थीलाई बधाई तथा शुभकामना दिए।

विद्यालयका प्रिन्सिपल नारायण रोकाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताए। उनले गुणस्तरीय शिक्षासँगै नैतिक, सामाजिक तथा नेतृत्व विकासमा विद्यालयले विशेष ध्यान दिँदै आएको उल्लेख गरे।

कार्यक्रममा सचेत अभिभावकत्वसम्बन्धी अन्तरक्रियासमेत गरिएको थियो। विद्यालयका कोर्डिनेटर नारायण रानाले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय परिवारको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले विद्यार्थीको सफलतामा अभिभावकको सकारात्मक भूमिका, विद्यालयको शैक्षिक वातावरण र विद्यार्थीको निरन्तर परिश्रम महत्वपूर्ण हुनेमा जोड दिएका थिए। विद्यालयले आगामी दिनमा पनि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गर्ने जनाएको छ।



