सोमवार, जेठ २५ २०८३
काठमाडौं । नेसनल प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिको संयोजन तथा काठमाडौं महानगर समितिको आयोजनामा छैटौं अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिता जेठ २३ र २४ गते सम्पन्न भएको हो।

चावहिलस्थित विनायक सिद्ध कलेजमा आयोजित प्रतियोगितामा काठमाडौं जिल्लाभरका ५५ वटा विद्यालयको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगितामा कामना इन्टरनेसनल स्कुल तथा कलेजले प्रथमब्स्थान हासिल गर्यो। त्यस्तै विश्वज्ञान पाठशाला द्वितीय, कान्तिपुर इङ्लिस एकेडेमी तृतीय तथा ग्रीनफिल्ड नेसनल एकेडेमी चौथो स्थान हासिल गर्न सफल भएका छन्। विजेता विद्यालयहरूलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। साथै मेडल, शिल्ड र ट्रफीद्वारा समेत सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याब्सन केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारीले हाजिरीजवाफजस्ता सिर्जनात्मक प्रतियोगिताले विद्यार्थीहरूमा अध्ययनप्रति रुचि बढाउने र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। यस्ता कार्यक्रमले विद्यालय शिक्षालाई थप प्रभावकारी र जीवनोपयोगी बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो।
काठमाडौं जिल्ला अध्यक्ष अमृत खड्काले विद्यार्थीको बौद्धिक विकासका लागि अतिरिक्त क्रियाकलाप अपरिहार्य रहेको उल्लेख गर्दै नेसनल प्याब्सनले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको समग्र व्यक्तित्व विकासमा निरन्तर काम गरिरहेको बताउनुभयो।

कार्यक्रममा नेसनल प्याब्सनका उपाध्यक्ष विष्णु पराजुली, उपाध्यक्ष यसिवा रहमान, महासचिव प्रकाश खड्का, केन्द्रिय सदस्य भीष्म पाण्डे, जिल्ला उपाध्यक्ष प्रेम भुजेल, सहसचिव शिवराम गिरि, प्रदेश सचिव शेरबहादुर पौडेल, विनायक सिद्ध कलेजका क्याम्पस प्रमुख रामकृष्ण सिम्खडा, महानगर उपाध्यक्ष माधव अधिकारी, महानगर सहसचिव टंक प्रसाद गैरेलगायतको उपस्थिति रहेको थियो।
काठमाडौं महानगर समितिका अध्यक्ष नवराज पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो। विद्यार्थीहरूमा सामान्य ज्ञान, तार्किक क्षमता, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सभापति पाण्डेले बताउनुभयो। उक्त हाजिरीजवाफ प्रतियोगिता सञ्चालकको लागि महानगर सहसचिव प्रकाश श्रेष्ठ संयोजक रहनुभएको थियो । भने सञ्चालन महानगर सचिव सुनिल केसीले गर्नुभएको थियो।

विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि, ज्ञान आदानप्रदान तथा स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितालाई सहभागी विद्यालय, शिक्षक तथा अभिभावकले अत्यन्तै सकारात्मक रूपमा लिएको आयोजकले जनाएको छ।


