सोमवार, जेठ २५ २०८३
काठमाडौं, असार ८ । कोटदेवी पब्लिक इङ्लिस सेकेण्डरी स्कुल (कोपेस), काठमाडौं–३२ विद्यानगरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरेको छ। स्कुलले आइतबार एक भब्य कार्यक्रमका विच एसईई २०८२ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन दाहालको सभापतित्वमा सम्पन्न ‘एसईई विद्यार्थी अभिनन्दन (सम्मान) कार्यक्रम–२०८३’ मा शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख सुरेश कुमार जोशी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। साथै विद्यालयका प्रिन्सिपल नवराज भट्ट, कार्यक्रममा डिनका अध्यक्ष अनिल सुब्बा, फेकाका अध्यक्ष रामेश्वर दाहाल, भाइस प्रिन्सिपल पूर्ण बस्नेत तथा विद्यालय संयोजक राधा कार्की लगाएत विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले संस्कारयुक्त शिक्षाको महत्वमाथि जोड दिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जोशीले शिक्षाले केवल ज्ञान मात्र नभई संस्कार, नैतिकता र सकारात्मक सोचको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई आफ्नो माटो, संस्कृति र पहिचानप्रति गर्व गर्न आग्रह गर्दै कृषि क्षेत्रलाई सम्मानित पेशाका रूपमा स्थापित गर्न विद्यालयस्तरबाटै चेतना जगाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। “देशलाई चिन्ने, समाजलाई बुझ्ने र स्वदेशमै अवसर सिर्जना गर्ने सोच शिक्षाबाटै विकास हुन्छ,” उहाँले भन्नुभयो ।

सम्मान कार्यक्रममा विद्यालयका प्रिन्सिपल नवराज भट्टले एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूको सफलताले विद्यालयको शैक्षिक यात्रामा थप ऊर्जा प्रदान गरेको उल्लेख गर्नुभयो । उहाँले गुणस्तरीय र मूल्यमा आधारित शिक्षामार्फत सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादन गर्ने विद्यालयको लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा डिनका अध्यक्ष अनिल सुब्बा, फेकाका अध्यक्ष रामेश्वर दाहालले विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै निरन्तर मेहनत र सकारात्मक सोचका साथ अगाडि बढ्न सुझाव दिएका थिए।
सो अवसरमा एसईईमा उत्कृष्ट नतिजा हासिल गराउन योगदान पुर्याएका विज्ञान शिक्षक रमेश भट्टलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो। उत्कृष्ट विद्यार्थीहरूलाई पनि सम्मानपत्र तथा पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ।

कक्षा १० का विद्यार्थी सन्देश भुसालले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्यलगायत विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। सांस्कृतिक कार्यक्रमसँगै सम्पन्न सम्मान समारोहले विद्यार्थी, अभिभावक र शिक्षकहरूबीच उत्साहपूर्ण वातावरण सिर्जना गरेको थियो।

विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै शैक्षिक उत्कृष्टता र संस्कारयुक्त शिक्षाप्रति थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।




