मंगलवार, जेठ २६ २०८३
काठमाडौं, जेठ २५ । काठमाडौं बर्नहार्ट सेकेन्डरी स्कुल/कलेज ले कक्षा ११ मा भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूका लागि भव्य अभिमुखीकरण (Orientation) कार्यक्रम सम्पन्न गरेको छ। सोमबार काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित उक्त कलेजले एक भब्य कार्यक्रमका विच अभिमूखीकरण कार्यक्रम गरेको हो।

आगामी दुई वर्षको शैक्षिक यात्रालाई प्रभावकारी, अनुशासित र उपलब्धिमूलक बनाउन उद्देश्य राखी आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन व्यवस्थापन समितिका अध्यक्ष भुपेस छत्कुलीले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन अंग्रेजी विभागका HOD दीपङ्कर सेनेहाङले गर्नुभएको थियो।


कार्यक्रममा विद्यालयका प्रिन्सिपल पुरुषोत्तम बिष्टले देशका विभिन्न जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीहरूलाई स्वागत गर्दै कक्षा ११ र १२ को अवधि जीवनकै महत्वपूर्ण शैक्षिक चरण भएको उल्लेख गर्नुभयो। उहाँले आगामी दुई वर्षलाई उद्देश्यपूर्ण र उपलब्धिमूलक बनाउन आग्रह गर्नुभयो।

अभिमुखीकरण कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले बर्नहार्टमा उपलब्ध अनुभवी शिक्षक, आधुनिक भौतिक पूर्वाधार र गुणस्तरीय शैक्षिक वातावरणको सदुपयोग गर्दै विद्यार्थीहरूले आफ्नो भविष्य निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। अवसरहरू बारम्बार नआउने भएकाले कलेजले प्रदान गरेका अवसर र सुविधाहरूको अधिकतम उपयोग गर्न विद्यार्थी स्वयं सक्रिय हुनुपर्ने उहाँको भनाइ थियो। उहाँले बर्नहार्टमा भर्ना हुँदैमा सफलता सुनिश्चित नहुने, बरु निरन्तर मेहनत, अनुशासन र सही निर्णयमार्फत जीवनको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो। “जीवनमा सफल हुन सही निर्णय लिन सक्नुपर्छ, राम्रो निर्णयले नै सफलताको ढोका खोल्छ,” अधिकारीले भन्नुभयो।

अभिमुखीकरण कार्यक्रममा भाइस प्रिन्सिपल शिवराम रिजालले नव प्रवेशी विद्यार्थीहरुलाई सपथ खुवाउदै कलेजका नियम, शैक्षिक कार्यक्रम, अध्ययन पद्धति तथा विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिताबारे विस्तृत जानकारी प्रदान गर्नुभयो। उहाँले विद्यार्थीहरूले आत्मअनुशासन, जिम्मेवारीबोध तथा नेतृत्व क्षमताको विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। साथै बर्नहार्टको २६ वर्षे शैक्षिक यात्रा उपलब्धिमूलक रहेको उल्लेख गर्दै हाल देशका ७७ वटै जिल्लाका विद्यार्थीहरू यहाँ अध्ययनरत रहेको जानकारी दिनुभयो।

कार्यक्रमका सभापति तथा व्यवस्थापन समिति अध्यक्ष भुपेस छत्कुलीले बर्नहार्टले विद्यार्थीहरूको सपना साकार पार्न आवश्यक शैक्षिक वातावरण, ज्ञान, सीप र अवसर प्रदान गर्दै आएको बताउनुभयो। बर्नहार्टबाट अध्ययन पूरा गरी देश तथा विदेशका विभिन्न प्रतिष्ठित क्षेत्रमा सफलतापूर्वक कार्यरत पूर्वविद्यार्थीहरू संस्थाको गौरव रहेको उल्लेख गर्दै उहाँले नवप्रवेशी विद्यार्थीहरूलाई पनि मेहनत, लगनशीलता र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गर्नुभयो।

कलेजले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको नियमित पठनपाठन सुरु गर्ने जनाएको छ। नवप्रवेशी विद्यार्थीहरूलाई शैक्षिक वातावरणसँग परिचित गराउँदै जिम्मेवार, दक्ष र प्रतिस्पर्धी नागरिक निर्माण गर्ने उद्देश्यसहित आयोजित यो अभिमुखीकरण कार्यक्रम बर्नहार्टको विद्यार्थी केन्द्रित शैक्षिक अभ्यासको अर्को उदाहरण बनेको छ।





