मंगलवार, जेठ २६ २०८३
काठमाडौं, जेठ २६ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भक्तपुरले देशभरका विद्यालयहरूलाई विद्यार्थीहरूको व्यक्तिगत सूचना संरक्षण गर्न विशेष निर्देशन जारी गरेको छ। केन्द्रले विद्यार्थीको नाम, थर, जन्ममिति, सम्पर्क नम्बर तथा इमेल जस्ता व्यक्तिगत विवरणहरू अनाधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध गराइएको सम्बन्धमा विभिन्न उजुरी तथा गुनासाहरू प्राप्त भएपछि गम्भीर चासो व्यक्त गरेको हो।
केन्द्रद्वारा जारी पत्रमा विद्यार्थीहरूको व्यक्तिगत विवरण अनधिकृत रूपमा बाहिरिँदा उनीहरू मानसिक दबाबमा पर्ने तथा गोपनीयताको अधिकार प्रभावित हुने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ। यस विषयलाई गम्भीर रूपमा लिँदै विद्यालयहरूलाई विद्यार्थीसम्बन्धी संवेदनशील विवरण अभिभावकको स्वीकृतिविना कुनै पनि व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन निर्देशन दिइएको छ।
केन्द्रले सुरक्षित र मर्यादित शैक्षिक वातावरण कायम राख्न तथा विद्यार्थीहरूलाई अनावश्यक प्रभाव र जोखिमबाट जोगाउन आवश्यक सतर्कता अपनाउन विद्यालय प्रशासनलाई आग्रह गरेको छ। साथै, यस्ता गतिविधि हुन नदिन विद्यालयले सूचना व्यवस्थापन र अभिलेख सुरक्षामा विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ।
उक्त पत्रको बोधार्थ स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइ, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव तथा मन्त्रीको सचिवालयलाई समेत पठाइएको छ। केन्द्रले सम्बन्धित निकायहरूलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको जनाएको छ।
शिक्षा क्षेत्रमा डिजिटल अभिलेखीकरण र सूचना प्रविधिको प्रयोग बढ्दै गइरहेको अवस्थामा विद्यार्थीहरूको व्यक्तिगत सूचना सुरक्षित राख्ने विषय थप संवेदनशील बनेको छ। केन्द्रको यो निर्देशनले विद्यालयहरूमा सूचना सुरक्षाप्रति जिम्मेवारी र सचेतना बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
