Jul 27 2026 | २०८३, श्रावण ११ गते

‘स्वस्थ वृद्धावस्थाका लागि योग’ नारासहित विश्व योग दिवस मनाउन मन्त्रालयको आह्वान

‘स्वस्थ वृद्धावस्थाका लागि योग’ नारासहित विश्व योग दिवस मनाउन मन्त्रालयको आह्वान

  • 264
    SHARES

  • ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ नारासहित विश्व योग दिवस मनाउन मन्त्रालयको आह्वान

    काठमाडौं, जेठ २६ — शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी जुन २१ मा मनाइने विश्व योग दिवस २०२६ लाई व्यापक जनसहभागिता र रचनात्मक कार्यक्रममार्फत मनाउन योगसम्बद्ध सबै संघ–संस्थालाई आह्वान गरेको छ।

    मन्त्रालयअन्तर्गतको प्रारम्भिक बालशिक्षा तथा विद्यालय पोषण शाखाले जारी गरेको सूचनाअनुसार यस वर्षको १२औँ विश्व योग दिवस “Yoga for Healthy Ageing (स्वस्थ वृद्धावस्थाका लागि योग)” भन्ने मूल नारासहित मनाइने भएको छ। शिक्षा सचिवको अध्यक्षतामा बसेको विश्व योग दिवस २०२६ मूल समारोह तयारी समितिको बैठकले उक्त नारासहित दिवसलाई प्रभावकारी रूपमा मनाउने निर्णय गरेको हो।

    मन्त्रालयले योगसँग सम्बन्धित संघ–संस्थाहरूलाई चलचित्र प्रदर्शनी, पुस्तक विमोचन, रक्तदान, सार्वजनिक परिसंवाद, प्रभातफेरी, दीप प्रज्वलन, झाँकी प्रदर्शन, सामूहिक योग अभ्यास, योग प्रदर्शन, वक्तृत्वकला, वादविवाद तथा चित्रकला प्रतियोगितालगायतका विविध रचनात्मक, प्रवर्द्धनात्मक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको छ।

    योगलाई स्वस्थ, अनुशासित र सक्रिय जीवनशैलीसँग जोड्दै समाजमा यसको महत्व थप विस्तार गर्ने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ। विशेषगरी वृद्धावस्थामा शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउन योगको भूमिका महत्वपूर्ण रहने सन्देश यस वर्षको नाराले दिएको मन्त्रालयको भनाइ छ।

    मन्त्रालयले सम्बन्धित संस्थाहरूलाई आफूहरूले सञ्चालन गर्ने कार्यक्रमको विवरण २०८३ असार १ गतेभित्र उपलब्ध गराउन अनुरोध गरेको छ। साथै, कार्यक्रम सम्पन्न भएपछि सहभागी संख्या, मुख्य गतिविधि तथा प्राप्त उपलब्धिसहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्न पनि आग्रह गरिएको छ।

    विश्व योग दिवसलाई योगप्रति जनचासो अभिवृद्धि गर्ने तथा स्वस्थ समाज निर्माणका लागि प्रेरणा दिने अवसरका रूपमा लिइएको छ। मन्त्रालयले देशभरका योगसम्बद्ध संस्थाहरूलाई दिवसलाई प्रभावकारी र उपलब्धिमूलक रूपमा मनाउन सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

    images
    बुधवार, जेठ २७ २०८३०६:३२:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार