बुधवार, जेठ २७ २०८३
काठमाडौँ । विद्यालय कर्मचारीहरूको पेशागत हकहित, सम्मानजनक जीवनयापन तथा सेवा–सुविधा सुनिश्चित गर्न माग गर्दै विद्यालय कर्मचारी परिषद्ले देशव्यापी आन्दोलनको पहिलो चरण सुरु गर्ने भएको छ। आन्दोलनअन्तर्गत देशभरका विद्यालय कर्मचारीहरूले जेठ २८ गतेदेखि असार ४ गतेसम्म हातमा कालो पट्टी बाँधेर नियमित कार्यसम्पादन गर्दै सांकेतिक विरोध जनाउने भएका छन्।
परिषद्ले जारी गरेको सूचनाअनुसार आन्दोलन शान्तिपूर्ण र मर्यादित ढंगले सञ्चालन गरिनेछ। कर्मचारीहरूले विद्यालयमा आफ्नो दैनिक जिम्मेवारी निर्वाह गर्दै कालो पट्टी बाँधेर सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्य राखेका छन्।
आन्दोलनलाई थप प्रभावकारी बनाउन कर्मचारीहरूलाई कालो पट्टीसहित कार्यस्थलमा कार्यरत रहेको फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्न पनि आग्रह गरिएको छ। फेसबुक, टिकटक, एक्स (ट्विटर), इन्स्टाग्राम लगायतका माध्यममा आन्दोलनसम्बन्धी ह्यासट्याग प्रयोग गरी अभियानलाई व्यापक बनाउन परिषद्ले अनुरोध गरेको छ।
परिषद्का अनुसार विद्यालय कर्मचारीहरू लामो समयदेखि न्यून पारिश्रमिक, सेवा–सुविधाको अभाव, पेशागत असुरक्षा तथा श्रमको उचित मूल्यांकन नहुँदा समस्यामा पर्दै आएका छन्। यिनै विषयलाई राज्यको ध्यानमा पुर्याउन आन्दोलनका कार्यक्रम घोषणा गरिएको जनाइएको छ।
विद्यालय कर्मचारीहरूले शिक्षा क्षेत्रको व्यवस्थापन र प्रशासनिक कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आए पनि उनीहरूको भूमिकाअनुसारको सम्मान र सुविधाको व्यवस्था हुन नसकेको गुनासो गर्दै आएका छन्। आन्दोलनमार्फत आफ्ना जायज मागहरू सम्बोधन हुने विश्वास परिषद्ले व्यक्त गरेको छ।
परिषद्ले सम्पूर्ण विद्यालय कर्मचारीलाई एकताबद्ध भई आन्दोलनलाई सफल बनाउन आह्वान गर्दै “एकता, संघर्ष र अधिकार प्राप्तिका लागि कालो पट्टी अभियान” लाई व्यापक सहभागितासहित सम्पन्न गर्न आग्रह गरेको छ। आन्दोलनको पहिलो चरणपछि आवश्यकताअनुसार थप कार्यक्रम सार्वजनिक गरिने परिषद्ले जनाएको छ।