शनिवार, जेठ ३० २०८३
काठमाडौं । कक्षा ११ छात्रवृत्ति कार्यक्रमअन्तर्गत पहिलो म्याचिङ् लिष्टबाट सिफारिस भएका विद्यार्थीमध्ये ३ हजार ५१ जना विभिन्न विषयमा भर्ना भएका छन्। परीक्षा समितिका अनुसार पहिलो सूचीबाट सिफारिस भएका विद्यार्थीमध्ये विज्ञान विषयमा १ हजार ९०१ जना, व्यवस्थापनमा १ हजार १११ जना, कानुनमा ३४ जना र मानविकीमा ५ जना विद्यार्थी भर्ना भएका छन्।
विद्यालयहरूले भर्ना भएका विद्यार्थीहरूको विवरण सम्बन्धित सफ्टवेयरमा प्रविष्ट गरेपछि रिक्त हुन आएका सिटहरूको आधारमा परीक्षा समितिले दोस्रो म्याचिङ् लिष्ट सार्वजनिक गरेको छ। दोस्रो सूचीमा कुल ४८६ जना विद्यार्थीको नाम सिफारिस गरिएको छ।
शिक्षा अधिकृत तथा परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार दोस्रो सूचीमा विज्ञान विषयका लागि ३२३ जना, व्यवस्थापनका लागि १४५ जना, कानुनका लागि १५ जना, मानविकीका लागि १ जना तथा शिक्षाशास्त्रका लागि २ जना विद्यार्थी सिफारिस भएका छन्।
समितिले दोस्रो मनोनयन सूचीमा परेका विद्यार्थीहरूलाई असार २ गतेभित्र सम्बन्धित विद्यालयमा भर्ना प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। निर्धारित समयभित्र भर्ना नभएमा सम्बन्धित सिट पुनः रिक्त भई अर्को चरणको म्याचिङ् प्रक्रियामा समावेश हुन सक्ने जनाइएको छ।
छात्रवृत्ति व्यवस्थापन प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन विद्यालयहरूलाई भर्ना विवरण समयमै प्रणालीमा अद्यावधिक गर्न पनि परीक्षा समितिले अनुरोध गरेको छ।