Jul 27 2026 | २०८३, श्रावण ११ गते

सन्तति आधारभूत विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा छात्रवृत्ति वितरण

सन्तति आधारभूत विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा छात्रवृत्ति वितरण

  • 166
    SHARES

  • सन्तति आधारभूत विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा छात्रवृत्ति वितरण

    भक्तपुर, जेठ २९ । भक्तपुरको  सन्तति आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरूलाई छात्रवृत्ति वितरण तथा नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्ने कार्यक्रम सम्पन्न भएको छ। <> कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रमा भक्तपुर नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै विद्यार्थीको समग्र विकासका लागि अभिभावकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले विद्यालयको शैक्षिक स्तर अभिवृद्धिसँगै आवश्यक शिक्षक तथा जनशक्तिको व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिनुभयो।

    Messenger_creation_F975AEB3-33DF-4B1E-8C93-71260C026699.jpeg

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य भोजराज बस्नेतले नेपाल सरकारले उपलब्ध गराउँदै आएको छात्रवृत्ति रकम समयानुकूल वृद्धि हुन नसकेको उल्लेख गर्दै विद्यार्थी सङ्ख्या वृद्धि र शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले आवश्यक सहयोग गरिरहेको बताउनुभयो।

    उहाँले सामुदायिक विद्यालयहरूले कमजोर शैक्षिक पृष्ठभूमिका विद्यार्थीलाई समेत उत्कृष्ट नतिजातर्फ उन्मुख गराउन सफल भएको उल्लेख गर्दै श्रमिक तथा मजदुर वर्गका छोराछोरीलाई शिक्षाबाट वञ्चित गर्ने कुनै पनि प्रवृत्ति संविधानको भावना विपरीत हुने धारणा व्यक्त गर्नुभयो।

    विद्यालयका प्रधानाध्यापक दीपक माकले विद्यालयको शैक्षिक उपलब्धि सुधारका लागि शिक्षक, अभिभावक, वडा कार्यालय तथा भक्तपुर नगरपालिकाको निरन्तर सहयोग रहेको बताउनुभयो। उहाँले विद्यार्थीले पाठ्यपुस्तकमा सीमित नभई व्यवहारिक ज्ञान, सिर्जनशीलता र नेतृत्व विकासका लागि अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सम्झना प्रेमी र रेखा श्रेष्ठ, शिक्षकहरू जगन्नाथ डुम्रे र कृष्णमाया बस्नेत तथा छात्रा निशिका खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए।

    विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरेको कार्यक्रममा ५५ जना छात्रालाई छात्रवृत्ति वितरण गरिएको थियो भने ५० जना नवआगन्तुक विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरी स्वागत गरिएको थियो। विद्यालयका अनुसार चालु शैक्षिक सत्रको जेठ महिनासम्म विद्यालयमा १९५ जना विद्यार्थी अध्ययनरत रहेका छन्।

    images
    शनिवार, जेठ ३० २०८३०२:४२:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार