शनिवार, जेठ ३० २०८३
काठमाडौं, जेठ २९ । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरेको छ। शुक्रबार थापागाउँस्थित काठमाडौं ब्याङ्केटमा आयोजित विशेष समारोहमा उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मानपत्र तथा कदरपत्र प्रदान गरिएको हो।

समितिका अध्यक्ष धनप्रसाद सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षा समन्वय इकाइ काठमाडौंका प्रमुख सुरेश कुमार जोशी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रममा जिल्ला प्याब्सन काठमाडौंका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, उपाध्यक्ष आरबी अधिकारी, प्याब्सन काठमाडौ महानगरपालिका गगन सिंह ऐर, प्याब्सन काठमाडौँ जिल्ला सहसचिव दिनेश कुमार पाण्डे, सौर्य आचार्य, डिनका अध्यक्ष अनिल सुब्बा, निसानका महासचिव नवराज सापकोटा, राज कुमार बोगटी लगाएत शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्व, विद्यालयका सञ्चालक, प्रिन्सिपल, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

समारोहको उद्घाटन प्रमुख अतिथिबाट पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। कार्यक्रम संयोजक तथा समितिका उपाध्यक्ष तेज प्रकाश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूको मेहनत, अभिभावकको साथ र शिक्षकहरूको समर्पणका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताए।

कार्यक्रममा एसईई २०८२ मा विभिन्न विद्यालयहरुबाट ४ जिपिए ल्याउने र उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै सदस्य विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई दीर्घ सेवा सम्मान पनि प्रदान गरिएको थियो। यस अवसरमा सदस्य विद्यालयहरूलाई सम्मानपत्र वितरण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि सुरेश कुमार जोशीले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै सफलता केवल अंक प्राप्तिमा सीमित नभई अनुशासन, निरन्तर परिश्रम र सकारात्मक सोचको प्रतिफल भएको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई उच्च शिक्षा तथा जीवनका आगामी चरणहरूमा पनि मेहनत, सिर्जनशीलता र जिम्मेवारीबोधका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय, शिक्षक र अभिभावकको संयुक्त भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै उनले उत्कृष्ट नतिजा हासिल गराउने विद्यालय तथा शिक्षकहरूको योगदानको समेत प्रशंसा गर्नुभयो। जोशीले वर्तमान शिक्षा प्रणालीलाई सीप, प्रविधि र व्यवहारिक ज्ञानसँग जोड्न आवश्यक रहेको बताउँदै विद्यार्थीहरूलाई केवल परीक्षामुखी नभई जीवनोपयोगी ज्ञान र क्षमताको विकासतर्फ केन्द्रित हुन सुझाव दिनुभयो। उहाँले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह, आत्मविश्वास र प्रतिस्पर्धी भावना विकास गर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी बिशिस्ट अतिथी सुदर्शन थापाले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै सफलता निरन्तर मेहनत, अनुशासन र लगनशीलताको प्रतिफल भएको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा पनि उत्कृष्टता कायम राख्न शुभकामना व्यक्त गर्दै गुणस्तरीय शिक्षाका लागि विद्यालय, शिक्षक र अभिभावकबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने धारणा राख्नुभयो।

अन्त्यमा कार्यक्रमका सभापति धनप्रसाद सुब्बा ले विद्यार्थीहरूको सफलता सम्पूर्ण शैक्षिक समुदायको गौरव भएको बताउँदै भविष्यमा पनि यस्ता प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो । उक्त कार्य समारोहको सञ्चालन समितिका सचिव रमेश पनेरुले गर्नुभएको थियो।


