आइतवार, जेठ ३१ २०८३
काठमाडौं, जेठ ३१ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौं जिल्ला कार्यसमिति तथा नगार्जुन नगर समितिको संयुक्त आयोजनामा ‘कृत्रिम बुद्धिमत्ता (AI): अवसर र चुनौती’ विषयक जिल्ला स्तरीय अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

काठमाडौंको स्युचाटार पुलस्थित काठमाडौं भ्याली स्कूल/कलेजमा आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगितामार्फत विद्यार्थीहरूले कृत्रिम बुद्धिमत्ताका अवसर, चुनौती, सम्भावना, प्रभाव तथा यसको जिम्मेवार प्रयोगका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।

उक्त प्रतियोगितामा लालीगुराँस नेशनल एकेडेमीकी जोहाना केसीले प्रथम स्थान हासिल गरिन। त्यस्तै द एक्सेल पब्लिक सेकेन्डरी स्कूलकी दीपशिखा गजमेर द्वितीय तथा मण्डला इन्टरनेशनल स्कूलकी सदिक्ष्या शर्मा तृतीय भइन्।


उक्त प्रतियोगितामा टाइमलाइन स्कूलकी निष्ठा ठकुरी, ज्ञानमाला इङ्ग्लिस हाई स्कूलकी डोल्मा शेर्पा र प्रकृति दाहाल, गोरखकाली स्कूलका समीपचन्द्र पौडेल, गोकर्णेश्वर लाइट एकेडेमीकी निकिशा थापा, ब्राइट फ्युचर सेकेन्डरी स्कूलकी दीप्ति दाहाल तथा लिटल बड सेकेन्डरी स्कूलकी ममता गिरी उत्कृष्ट दस जना प्रतियोगी भित्र रहेका थिए।

उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः नगद रु. ५ हजार, तीन हजार र दुई हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै चौथो देखि दशौ स्थान हासिल गर्ने विद्यार्थीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। र सम्पुर्ण सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
हरेक बर्ष गर्ने उत्कृष्ट वक्तृत्वकला प्रतियोगितामा कार्यक्रमको अध्यक्षता प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले गरेका थिए भने प्याब्सन केन्द्रका सह–अध्यक्ष गोपालप्रसाद आचार्य प्रमुख अतिथिका रूपमा सहभागी थिए। काठमाडौं भ्याली स्कूल/कलेजका निर्देशक तथा हिसानका वरिष्ठ उपाध्यक्ष डा. स्वागत श्रेष्ठ विशेष अतिथि रहेका थिए।
अन्य अतिथिहरु काठमाडौँ जिल्ला वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, काठमाडौँ महानगरपालिका अध्यक्ष गगन सिंह ऐर, नागार्जुन नगरपालिका अध्यक्ष वासुदेव घिमिरे, काठमाडौ जिल्ला सहसचिव तथा संयोजक सौर्य आचार्य सह-कोषाध्यक्ष अनिल कुमार सब्बा, अनिलकुमार सुब्बा, नागार्जुन नगरपालिका उपाध्यक्ष डिबि ढकाललगाएत जिल्ला सदस्य, पदाधिकारी, सदस्य तथा बिभाजन जिल्लाका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो।
प्रतियोगिताको मूल्याङ्कन डा. भुवन न्यौपाने र डा. बालकृष्ण अधिकारीले गरेका थिए। निर्णायकहरूले विद्यार्थीहरूले एआइको प्रभाव, सम्भावना र नैतिक पक्षबारे गहिरो अध्ययनसहित प्रभावकारी प्रस्तुति दिएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको नेतृत्व क्षमता, तार्किक सोच र अभिव्यक्ति कलाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
वक्तृत्वकला प्रतियोगिताका प्रमुख अतिथि तथा प्याब्सन केन्द्रका सह-अध्यक्ष गोपाल प्रसाद आचार्यले वर्तमान समयमा ज्ञानसँगै प्रस्तुतीकरण सीप पनि उत्तिकै महत्वपूर्ण भएको बताए। उनले विद्यार्थीहरूले AI लगायत समसामयिक विषयमा आफ्नो धारणा स्पष्ट रूपमा प्रस्तुत गर्न सक्नुपर्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले उनीहरूलाई भविष्यका सक्षम नेतृत्वका रूपमा तयार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

आचार्यले एआईले शिक्षा, स्वास्थ्य, अनुसन्धान र उद्यमशीलतामा नयाँ अवसर सिर्जना गरेको बताए। तर यसको दुरुपयोग, शैक्षिक बेइमानी, रोजगारीमा पर्ने प्रभाव तथा व्यक्तिगत गोपनीयताजस्ता चुनौतीप्रति पनि सचेत रहनुपर्ने उनको भनाइ थियो। उनले एआईको प्रयोगसँगै नैतिकता, उत्तरदायित्व र डिजिटल साक्षरतामा जोड दिनुपर्ने बताए।
विशेष अतिथि प्रा. डा. स्वागत श्रेष्ठले विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्नुभयो । उनले विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुन नहुने बताउँदै अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधिले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे। साथै प्रतिस्पर्धात्मक युगमा सञ्चार सीप, आलोचनात्मक चिन्तन र आत्मविश्वास विकासका लागि वक्तृत्वकला जस्ता कार्यक्रम आवश्यक रहेको बताए।
कार्यक्रमका सभापति तथा प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरूमा नेतृत्व क्षमता, तार्किक सोच, आत्मविश्वास र सार्वजनिक अभिव्यक्ति कलाको विकास गर्ने बताए। उनले विद्यार्थीलाई केवल शैक्षिक उपलब्धिमा मात्र सीमित नराखी सिर्जनशील र जिम्मेवार नागरिकका रूपमा विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे।

भट्टले कृत्रिम बुद्धिमत्ता (एआई) आजको युगको अपरिहार्य प्रविधि बनेको बताउँदै यसको सकारात्मक उपयोगबाट शिक्षा क्षेत्रलाई गुणस्तरीय र प्रविधिमैत्री बनाउन सकिने धारणा राखे। उनले एआईलाई ज्ञान प्राप्तिको माध्यमका रूपमा उपयोग गर्नुपर्ने उल्लेख गर्दै विद्यार्थीहरूले प्रविधिको प्रयोगसँगै सिर्जनशीलता, विश्लेषणात्मक क्षमता र नैतिक मूल्यलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताए। एआईले अवसरका ढोका खोल्ने भए पनि यसको जिम्मेवार प्रयोग नै सबैभन्दा ठूलो चुनौती रहेको उनको भनाइ
आयोजकका अनुसार सूचना–प्रविधिको तीव्र विकाससँगै कृत्रिम बुद्धिमत्ताबारे विद्यार्थीमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो।