सोमवार, आषाढ १ २०८३
भक्तपुर, असार १ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सरुवा प्रक्रियालाई थप व्यवस्थित बनाउन नयाँ मापदण्ड लागू गरेको छ। केन्द्रले आइतबार जारी गरेको निर्देशनअनुसार शिक्षक सेवा आयोगमा स्थायी पदपूर्तिका लागि माग गरिएका पदमा अब जिल्लान्तर तथा अन्तर–स्थानीय तह सरुवा गर्न नपाइने भएको छ।
केन्द्रअन्तर्गत शैक्षिक योजना तथा विकास महाशाखाको शिक्षक व्यवस्थापन समन्वय शाखाले शिक्षा विकास तथा समन्वय इकाइ र सबै स्थानीय तहलाई पत्राचार गर्दै सरुवासम्बन्धी नयाँ व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरेको हो।
निर्देशनअनुसार दरबन्दी कटौतीका कारण खुद पुलमा रहेका शिक्षक पदमा पनि सरुवा गर्न पाइने छैन। स्थानीय तहअन्तर्गत रहेका यस्ता खुद पुल दरबन्दीमा शिक्षक व्यवस्थापन गर्दा सरुवा प्रक्रियाबाट पदपूर्ति गर्न रोक लगाइएको छ।
त्यसैगरी, ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि निवेदन दिएका सम्भावित उम्मेदवारहरूको हकमा बढुवाको अन्तिम नतिजा प्रकाशित नभएसम्म सरुवा सहमति नदिइने व्यवस्था गरिएको छ।
केन्द्रका शाखा अधिकृत विन्देश्वर थापामगरद्वारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ देशभरका सामुदायिक विद्यालयहरूलाई समेत पठाइएको छ। शिक्षक व्यवस्थापनलाई प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले जारी गरिएको यस निर्देशनले रिक्त पदमा स्थायी पदपूर्ति प्रक्रिया सहज बनाउन तथा बढुवा प्रक्रियालाई प्रभावित हुन नदिन सहयोग पुग्ने अपेक्षा गरिएको केन्द्रले जनाएको छ।
