मंगलवार, आषाढ २ २०८३
काठमाडौं, असार २ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पूर्व तथा वर्तमान पदाधिकारी र वरिष्ठ कर्मचारीहरूको तथ्यांक संकलन तथा अभिलेख अद्यावधिक गर्ने उद्देश्यले विवरण उपलब्ध गराउन आह्वान गरेको छ।
त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाले सोमबार सूचना जारी गर्दै आर्थिक वर्ष २०६२/०६३ देखि आर्थिक वर्ष २०८२ को चैत मसान्तसम्म विश्वविद्यालयका विभिन्न पदमा कार्यरत रहेका पदाधिकारी तथा अधिकृत प्रथम श्रेणी वा सो सरह र सोभन्दा माथिका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीहरूलाई आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।
सूचनाअनुसार आर्थिक वर्ष २०४८ सालअघि सेवा प्रवेश गरी आर्थिक वर्ष २०६२/०६३ पछि अवकाश भएका पदाधिकारी तथा कर्मचारीहरू पनि यस प्रक्रियामा समेटिएका छन्। विश्वविद्यालयले सम्बन्धित व्यक्तिहरूसँग सहज रूपमा सम्पर्क स्थापित गर्न तथा अभिलेख व्यवस्थित बनाउन विवरण संकलन गर्न लागेको जनाएको छ।
महाशाखाले सम्बन्धित पदाधिकारी तथा कर्मचारीलाई सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र कर्मचारी प्रशासन महाशाखामा स्वयं उपस्थित भई वा इमेलमार्फत विवरण पठाउन आग्रह गरेको छ। साथै, विश्वविद्यालयले उपलब्ध गराएको अनलाइन फाराममार्फत पनि विवरण पेश गर्न सकिने जनाएको छ।
त्रिविले विवरण पेश गर्दा सम्बन्धित पदाधिकारी वा कर्मचारीको नियुक्तिपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्ने व्यवस्था गरेको छ। आवश्यक विवरण समयमै उपलब्ध गराई विश्वविद्यालयको अभिलेख अद्यावधिक कार्यमा सहयोग गर्न सम्बन्धित सबैमा आग्रह गरिएको छ। विश्वविद्यालय प्रशासनका अनुसार संकलित विवरणले पूर्व तथा वर्तमान पदाधिकारी एवं वरिष्ठ कर्मचारीहरूको अभिलेख व्यवस्थित गर्न तथा आवश्यक पर्दा प्रभावकारी रूपमा सम्पर्क स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
