शुक्रवार, आषाढ ५ २०८३
काठमाडौँ, असार ५ । सानोभर्याङस्थित कामना इन्टरनेशनल स्कुल/कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। बिहिवार ढुङ्गेधारास्थित छोरोल्पा ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक वातावरण, अनुशासन, नेतृत्व विकास, साइबर सुरक्षा तथा भविष्य निर्माणसम्बन्धी विविध विषयमा अभिमुखीकरण गरिएको थियो।

कामना इन्टरनेशनल स्कुल/कलेजका अध्यक्ष पदम प्रसाद भट्टराईको सभापतित्व तथा शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौँका प्रमुख सुरेश कुमार जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उत्प्रेरक वक्ता राजेश शर्मा, क्याम्पस प्रमुख महेश श्रेष्ठ, विभागीय प्रमुखहरू, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचङ्गुनारायणका प्रहरी नायब निरीक्षक राजेन्द्रले विद्यार्थीहरूलाई साइबर अपराध (Cyber Crime) र डिजिटल सुरक्षासम्बन्धी अभिमुखीकरण दिनुभएको थियो। उहाँले सामाजिक सञ्जाल तथा इन्टरनेटको प्रयोग गर्दा आवश्यक सावधानी अपनाउन, अनलाइन ठगी तथा साइबर जोखिमबाट बच्न र प्रविधिको जिम्मेवार प्रयोग गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

अभिमुखीकरण कार्यक्रममा क्याम्पस प्रमुख महेश श्रेष्ठले कक्षा ११ मा प्रवेशसँगै विद्यार्थीहरूले जीवनको नयाँ यात्राको सुरुवात गरेको बताउनुभयो। उहाँले कामना इन्टरनेशनल स्कुल/कलेजले विद्यार्थीलाई केवल शैक्षिक ज्ञान प्रदान गर्ने मात्र नभई नेतृत्व क्षमता, व्यक्तित्व विकास र जीवनोपयोगी सीपको विकासमा समेत विशेष जोड दिँदै आएको उल्लेख गर्नुभयो। “कामनाले ‘लर्नर’लाई ‘लिडर’ बनाउने लक्ष्यका साथ काम गरिरहेको छ,” उहाँले भन्नुभयो।

उत्प्रेरक वक्ता राजेश शर्माले विद्यार्थी जीवनमा अनुशासन, आत्मविश्वास र निरन्तर मेहनतको महत्वबारे प्रकाश पार्नुभयो। उहाँले कक्षा ११ र १२ विद्यार्थीको भविष्य निर्धारण गर्ने महत्वपूर्ण चरण भएकाले समयको सदुपयोग गर्दै लक्ष्यप्रति केन्द्रित हुन सुझाव दिनुभयो। शर्माले शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई संस्कार, संस्कृति, नैतिकता र जिम्मेवारी सिकाउने प्रक्रिया पनि भएको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि सुरेश कुमार जोशीले विद्यार्थीहरूलाई जीवनको अत्यन्त महत्वपूर्ण चरणमा प्रवेश गरेको उल्लेख गर्दै स्पष्ट उद्देश्य निर्धारण गरी त्यसअनुसार इमान्दारीपूर्वक मेहनत गर्न आग्रह गर्नुभयो। उहाँले “पहिले आफ्नो उद्देश्य बनाउनुहोस् र त्यसलाई प्राप्त गर्न कठिन परिश्रम गर्नुस्, सफलताको कुनै छोटो बाटो हुँदैन,” भन्नुभयो।

उहाँले विद्यार्थीहरूलाई आफ्नै देशमा बसेर अध्ययन गर्न, सीप र क्षमता विकास गर्न तथा भविष्यमा देशकै विकासमा योगदान पुर्याउन प्रेरित गर्दै “आफ्नै देशमा बसौँ, पढौँ र आफ्नै देशमै काम गरौँ” भन्ने सन्देश दिनुभयो। विद्यार्थी जीवनको यो चरण अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले जिज्ञासु बन्न, धेरै प्रश्न गर्न, नयाँ कुरा सिक्न र निरन्तर ज्ञान आर्जन गर्न सुझाव दिनुभयो।

“धेरै सुन्नुस् तर कम बोल्नुस्, काम धेरै गर्नुस्,” भन्दै जोशीले अनुभव र ज्ञान प्राप्तिका लागि सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। साथै, डिजिटल युगमा मोबाइल, इन्टरनेट तथा अन्य डिजिटल उपकरणहरूको महत्व बढ्दै गएको उल्लेख गर्दै तिनको सदुपयोग गर्न र दुरुपयोगबाट टाढा रहन विद्यार्थीहरूलाई सचेत गराउनुभयो। उहाँले असफलताबाट निराश नहुन, त्यसबाट सिकेर अगाडि बढ्न र निरन्तर प्रयासमार्फत सफलता हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष पदम प्रसाद भट्टराईले कलेजप्रति विश्वास गरेर भर्ना भएका विद्यार्थी तथा अभिभावकप्रति आभार व्यक्त गर्नुभयो। उहाँले कामना इन्टरनेशनल स्कुल/कलेजले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण तथा सर्वाङ्गीण विकासमार्फत विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा निरन्तर काम गरिरहेको बताउनुभयो। साथै, विद्यार्थी र अभिभावकले कलेजमाथि गरेको विश्वासलाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा लक्ष्मीकान्त खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कलेजका प्रिन्सिपल नवराज पाण्डेले सञ्चालन गर्नुभएको थियो। प्रिन्सिपल पाण्डेले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै शैक्षिक उपलब्धिसँगै असल, सक्षम र जिम्मेवार नागरिक बन्न प्रेरित गर्नुभयो।

अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरूले नृत्य तथा सांस्कृतिक प्रस्तुति समेत दिएका थिए भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। उत्साहपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रमले नवआगन्तुक विद्यार्थीहरूलाई नयाँ शैक्षिक यात्राप्रति थप आत्मविश्वासी र उत्साहित बनाएको सहभागीहरूले बताएका छन्।



