शुक्रवार, आषाढ ५ २०८३
काठमाडौँ, असार ५ । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले २०८३ साल वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डको असार ५ गते बसेको बैठकले परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको हो। प्रकाशित नतिजाअनुसार परीक्षामा सहभागी भएका कुल ४ लाख १८ हजार १७० परीक्षार्थीमध्ये २ लाख ६८ हजार १९० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यो कुल सहभागीमध्ये ६४.१३ प्रतिशत हो।
नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी सहभागी भएकामध्ये २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्, जसको उत्तीर्ण प्रतिशत ६९.७५ रहेको छ। त्यस्तै आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी सहभागी भएकामध्ये ३६ हजार ४२० जनाले ग्रेड प्राप्त गरेका छन्, जसको उत्तीर्ण प्रतिशत ४२.३८ रहेको बोर्डले जनाएको छ।
बोर्डले परीक्षा आचारसंहिता उल्लङ्घन गरेको आरोपमा केही परीक्षार्थीहरूको चालु खण्डका सम्पूर्ण विषयको नतिजा रद्द गरेको छ। साथै दुई जना परीक्षार्थीलाई एक वर्षसम्म बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ।
परीक्षार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, एसएमएस, आइभीआर तथा यूएसएसडी सेवामार्फत हेर्न सक्नेछन्। बोर्डले नतिजामा चित्त नबुझेका परीक्षार्थीलाई पुनर्योग (Retotaling) का लागि आवेदन दिने व्यवस्था गरेको छ। इच्छुक परीक्षार्थीहरूले प्रति विषय एक हजार रुपैयाँ शुल्क तिरी असार ६ गते बिहान ११ बजेदेखि असार १२ गते साँझ ५ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन्।
यसैबीच, नियमित परीक्षार्थीका रूपमा सहभागी भई बढीमा दुई विषयमा ‘एनजी (Not Graded)’ प्राप्त गरेका वा बढीमा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीहरूले मौका (पूरक) परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ। यससम्बन्धी विस्तृत जानकारी पूरक परीक्षाको समयतालिकासँगै सार्वजनिक गरिनेछ।
बोर्डका अनुसार कक्षा १२ का उत्तीर्ण विद्यार्थीहरूले नतिजा प्रकाशन भएको १५ दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन तथा प्रोभिजनल प्रमाणपत्रका लागि प्रक्रिया अगाडि बढाउन सक्नेछन्।