शुक्रवार, आषाढ ५ २०८३
काठमाडौं, असार ६ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौं महानगर कार्यसमितिको आयोजनामा महानगरस्तरीय अन्तरविद्यालय हस्तलेखन प्रतियोगिता–२०८३ भोलि आयोजना हुने भएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै डाइनामिक एजुकेशनल एसोसिएसन नेपाल (डिन) का अध्यक्ष तथा प्रतियोगिता संयोजक अनिल सुब्बाले काठमाडौं महानगरअन्तर्गतका ५५ विद्यालयका कक्षा १० सम्मका विद्यार्थीहरू प्रतियोगितामा सहभागी हुने बताउनुभयो।
कक्षा १०सम्मका विद्यार्थी सहभागी हुने प्रतियोगिता नेपाली र अंग्रेजी दुवै भाषामा सञ्चालन गरिने र दुवै विधामा उत्कृष्ट पाँच–पाँच जना विद्यार्थीलाई ट्रफी, प्रमाणपत्र तथा आकर्षक पुरस्कार प्रदान गरिनेछ।
कार्यक्रममा बोल्दै प्याब्सन काठमाडौं महानगरका अध्यक्ष गगन सिंह ऐरले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा सुलेखन कला, भाषिक दक्षता, सिर्जनशीलता तथा आत्मविश्वास विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले महानगरले पहिलोपटक विभिन्न क्लस्टरलाई कार्यक्रम सञ्चालनको जिम्मेवारी दिने निर्णय गरेअनुसार यस वर्ष उक्त प्रतियोगिताको संयोजन डिनले गरेको जानकारी दिनुभयो।
पत्रकार सम्मेलनमा प्याब्सन महानगरका उपाध्यक्ष सूर्यबहादुर भण्डारी, सह–कोषाध्यक्ष धनप्रसाद सुब्बा तथा ईसीए/सीसीए इन्चार्ज राजकुमार बोगटीलगायतको उपस्थिति रहेको थियो।