शनिवार, आषाढ ६ २०८३
काठमाडौं, असार ६ । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि मूल्याङ्कन प्रक्रिया र नतिजा प्रकाशनको समयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका बेला शिक्षामन्त्री सस्मित पोखरेलले नतिजा छिटो आएको भए पनि उत्तरपुस्तिका परीक्षणमा कुनै हतार नगरिएको स्पष्ट पार्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले नतिजा छिटो प्रकाशन गर्नका लागि विगतमा अपनाइँदै आएका कुनै पनि आवश्यक प्रक्रिया हटाइएको नभएको बताउनुभयो। उहाँका अनुसार यस वर्ष मूल्याङ्कन प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाइएकाले नतिजा समयमै सार्वजनिक गर्न सम्भव भएको हो।
मन्त्री पोखरेलले विगतमा उत्तरपुस्तिका परीक्षणपश्चात् समपरीक्षणका लागि सबै सामग्री काठमाडौं ल्याउनुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै यस वर्ष भने सम्बन्धित स्थानमै समपरीक्षण गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। यसले समय बचत हुनुका साथै प्रशासनिक झन्झटसमेत कम भएको उहाँको भनाइ छ। उहाँले उत्तरपुस्तिका अनावश्यक रूपमा लामो समयसम्म रोकिराख्ने अभ्यासलाई अन्त्य गर्दै परीक्षण प्रक्रिया समयमै सुरु गरिएको बताउनुभयो। “यसको अर्थ कसैलाई हतारहतार उत्तरपुस्तिका जाँच्न लगाइएको होइन,” मन्त्री पोखरेलले स्पष्ट पार्नुभएको छ।
मूल्याङ्कन कार्यलाई प्रभावकारी बनाउन विगतको तुलनामा बढी जनशक्ति परिचालन गरिएको तथा अनावश्यक प्रशासनिक र प्रक्रियागत ढिलासुस्ती हुन नदिइएको पनि उहाँले उल्लेख गर्नुभयो। यसैबीच, पुनर्योग (Retotaling) शुल्क वृद्धि सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले उक्त शुल्क वृद्धि वर्तमान सरकारले गरेको निर्णय नभएको बताउनुभयो। उहाँका अनुसार यो व्यवस्था गत वर्षको पूरक परीक्षादेखि नै लागू भएको हो र यस सम्बन्धमा वर्तमान सरकारले कुनै नयाँ निर्णय गरेको छैन।
मन्त्री पोखरेलले यस वर्ष नतिजा “असामान्य रूपमा छिटो” आएको भन्दा पनि विगतमा हुने अनावश्यक ढिलाइलाई सुधार गरी उचित समयमा सार्वजनिक गरिएको जिकिर गर्नुभयो। उहाँले उत्तरपुस्तिका परीक्षणमा कुनै सम्झौता नगरिएको, आवश्यक जनशक्ति बढाइएको, समपरीक्षणका लागि काठमाडौं ल्याउनुपर्ने बाध्यता हटाइएको र मूल्याङ्कन प्रक्रिया समयमै सुरु गरिएको दोहोर्याउनुभयो।
शिक्षामन्त्री पोखरेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष कक्षा १२ को उत्तीर्ण प्रतिशत करिब ८ प्रतिशतले वृद्धि भएको छ, जसले मूल्याङ्कन प्रक्रिया प्रभावकारी र व्यवस्थित रहेको संकेत गरेको छ।