आइतवार, आषाढ ७ २०८३
काठमाडौँ, असार ६ । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँ महानगरको आयोजनामा तथा डाइनामिक एजुकेशनल एसोसिएसन नेपाल (डिन) को संयोजनमा काठमाडौँ महानगरस्तरीय अन्तरविद्यालय हस्तलेखन प्रतियोगिता–२०८३ भव्यरूपमा सम्पन्न भएको छ।

विद्यार्थीहरूमा सुन्दर लेखनकला, भाषिक शुद्धता, अनुशासन तथा सिर्जनशीलताको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा महानगर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
“सुन्दर अक्षर केवल लेखाइ होइन, व्यक्तित्वको परिचय पनि हो” तथा “हाम्रो लेखाइ हाम्रो संस्कार हो, हाम्रो अक्षर हाम्रो पहिचान हो” भन्ने मूल नारासहित आयोजित प्रतियोगिताको सभापतित्व डिनका अध्यक्ष तथा कार्यक्रम संयोजक अनिल कुमार सुब्बाले गर्नुभएको थियो भने काठमाडौँ प्याब्सनका अध्यक्ष नवराज भट्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा काठमाडौँ प्याब्सनका सल्लाहकार गोविन्द फ्याक लिम्बु, उपाध्यक्षद्वय सूर्यबहादुर भण्डारी र इशु गुरुङ, काठमाडौँ प्याब्सन महानगरका अध्यक्ष गगन सिंह ऐर, मिड प्याब्सनका अध्यक्ष धनप्रसाद सुब्बा, नेसा क्लस्टर प्रतिनिधि डा. राजेश भट्टराई, नासा कलेजका प्राचार्य शंकरप्रसाद गैरे लगायत शैक्षिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिताको अंग्रेजी हस्तलेखनतर्फ पीस पोइन्ट बोर्डिङ स्कुलकि प्रत्युषा श्रेष्ठ प्रथम, लालीगुराँस वाटिकाकी साङ्ग्या शाह द्वितीय, क्रिएसन एकेडेमीकि हुमाइरा खातुनले तृतीय स्थान हासिल गरिन। त्यस्तैगरि रिभिएरा इन्टरनेसनल एकेडेकी अग्निमा तामाङ चौथो तथा एलिक्सिर एकेडेमीकी मेडिना देवकोटाले पाँचौँ स्थान हासिल गर्न सफल भइन्।

नेपाली हस्तलेखनतर्फ व्हिज किड्स स्कुलकी ऋतिका कार्की प्रथम, स्वर्णिम स्कुलकी अश्मिता आचार्य द्वितीय, हिमालयन एकेडेमीकी सुभिना पुलामीले तृतीय स्थान हात पारिन। त्यस्तै अनमोल ज्योति स्कुलका प्रवीण खड्का चौथो तथा नोबेल एकेडेमीकी दिव्या गौतमले पाँचौँ स्थान हासिल गर्न सफल भइन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। भने सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य राख्दै नासा कलेजका प्राचार्य शंकरप्रसाद गैरे ले हस्तलेखनले विद्यार्थीको व्यक्तित्व विकास, एकाग्रता र सिर्जनशीलता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

प्रमुख अतिथि नवराज भट्ट ले डिजिटल युगमा पनि हस्तलेखनको महत्व उत्तिकै रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी काठमाडौँ प्याब्सनका उपाध्यक्ष सूर्यबहादुर भण्डारी ले सुन्दर लेखाइ विद्यार्थीको अनुशासन र संस्कारको परिचायक भएको बताउनुभयो।

समापन मन्तव्य व्यक्त गर्दै डिनका अध्यक्ष तथा प्रतियोगिता संयोजक अनिल कुमार सुब्बाले हस्तलेखन विद्यार्थीको अनुशासन, सिर्जनशीलता र व्यक्तित्वको दर्पण भएको उल्लेख गर्नुभयो। स्पष्ट र व्यवस्थित लेखाइले विद्यार्थीको शैक्षिक मूल्याङ्कनमा समेत सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो।

उक्त प्रतियोगिताको पुरस्कार वितरणमा अतिथिहरूमा काठमाडौँ प्याब्सन महानगरका वरिष्ठ उपाध्यक्ष राजन आचार्य, ईसीए/सीसीए विभाग प्रमुख राजकुमार बोगटी, डिन कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, डिन सदस्य विद्यालयका प्रिन्सिपल, डाइरेक्टर, सह–प्रिन्सिपल तथा प्रतिनिधिहरू, सहभागी विद्यालयका शिक्षक तथा प्रतिनिधिहरू, लगायतको उपस्थिति रहेको थियो।

आयोजकले यस्ता सिर्जनात्मक तथा शैक्षिक कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, प्रतिस्पर्धात्मक भावना र भाषिक दक्षता विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।