बुधवार, आषाढ १० २०८३
नेपालगञ्ज, असार ९ – अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार मिति २०८३ असार १० गतेदेखि १२ गतेसम्म सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयका सम्पूर्ण कक्षाको पठनपाठन बन्द रहनेछ।
उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउजाउ गर्न कठिनाइ हुनुका साथै स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने अवस्था देखिएकाले यो निर्णय गरिएको जनाएको छ।
निर्णय गर्नुअघि विद्यार्थी, शिक्षक, अभिभावक तथा जल तथा मौसम विज्ञान विभागलगायत सरोकारवाला निकायहरूको सुझावसमेत लिइएको जनाइएको छ। साथै, बिदाको अवधिमा विद्यार्थीहरूको सिकाइ निरन्तरता कायम राख्न विद्यालयहरूलाई पर्याप्त गृहकार्यको व्यवस्था गरी स्वअध्ययनलाई व्यवस्थित बनाउन आवश्यक सहजीकरण गर्न अनुरोध गरिएको छ।
नेपालगञ्ज क्षेत्रमा पछिल्ला दिनहरूमा तापक्रम बढ्दै गएपछि विद्यार्थीको स्वास्थ्य सुरक्षा र शैक्षिक गतिविधिको व्यवस्थापनलाई ध्यानमा राख्दै स्थानीय सरकारले यो कदम चालेको हो।