बिहिवार, आषाढ ११ २०८३
झापा । उर्लाबारी नगरपालिकाले नगर कार्यपालिकाको निर्णयअनुसार प्रत्येक आइतबार सञ्चालन गरिनुपर्ने अतिरिक्त क्रियाकलाप कार्यान्वयन नभएको विषयमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग स्पष्टीकरण माग गरेको छ।
नगर कार्यपालिकाको २०८३ जेठ १९ गते बसेको बैठकले नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा २०८३ असार १ गतेदेखि प्रत्येक आइतबार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको थियो। सो निर्णय कार्यान्वयनका लागि स्वीकृत कार्ययोजना संलग्न गरी २०८३ असार ५ गते विद्यालयहरूलाई पत्राचार समेत गरिएको थियो।
तर, २०८३ असार ७ गते गरिएको स्थलगत अनुगमनका क्रममा केही विद्यालयहरू पूर्ण रूपमा बन्द रहेको पाइएको नगरपालिकाले जनाएको छ। निर्णय कार्यान्वयन नभएको विषयलाई गम्भीर रूपमा लिँदै नगरपालिकाले सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई कारण खुलाउन निर्देशन दिएको हो।
प्रमुख प्रशासकीय अधिकृतद्वारा जारी पत्रमा नगर कार्यपालिकाको निर्णयबमोजिम विद्यालय सञ्चालन हुन नसक्नुको कारण स्पष्ट गरी २०८३ असार १२ गतेभित्र लिखित जवाफ पेश गर्न भनिएको छ।
नगरपालिकाले विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता तथा व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलाप महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन विद्यालय प्रशासनलाई आग्रह गरेको छ।
