आइतवार, आषाढ १४ २०८३
काठमाडौं, असार १४ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रमा प्रस्ताव गरिएको 'समता कर' ले गरिब तथा भुइँमान्छे वर्गलाई कुनै असर नपर्ने स्पष्ट पार्नुभएको छ।
आइतबार प्रतिनिधिसभामा आर्थिक विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले नेपालका करिब ८० प्रतिशत बालबालिका गैरनिजी विद्यालयमा अध्ययन गर्ने भएकाले उनीहरूलाई यो कर नलाग्ने बताउनुभयो।
उहाँका अनुसार समता शुल्क केही सीमित निजी विद्यालयमा मात्र लागू हुनेछ। मासिक १० हजार रुपैयाँ शुल्क तिर्ने अभिभावकले करिब ३ सय रुपैयाँ (३ प्रतिशत) योगदान गर्ने व्यवस्था गरिएको छ।
अर्थमन्त्री वाग्लेले उक्त रकम सार्वजनिक शिक्षाको गुणस्तर सुधार, भुइँमान्छे, सीमान्तकृत, दलित तथा न्यून आय भएका समुदायका बालबालिकाको शैक्षिक पहुँच र अवसर विस्तारमा खर्च गरिने जानकारी दिनुभयो। सानो–सानो योगदानबाट सार्वजनिक शिक्षाको स्तर उकास्ने उद्देश्यसहित समतामूलक नीति अघि सारिएको उल्लेख गर्दै उहाँले समता करको विरोध भइरहनु आश्चर्यजनक भएको टिप्पणी गर्नुभयो। समानता र सामाजिक न्यायको पक्षमा बोल्ने राजनीतिक दल तथा सांसदहरूले यस्तो नीतिको स्वागत गर्नुपर्ने उहाँको भनाइ थियो।
उहाँले मध्यम वर्गलाई समता करको अतिरिक्त भार नपरोस् भनेर व्यक्तिगत आयकरमा छुट दिइएको पनि बताउनुभयो। स्वास्थ्य क्षेत्रमा लागू गरिएको समता करबाट उठेको रकम पनि स्वास्थ्य सेवाको सुधारमै खर्च गरिने जानकारी दिँदै उहाँले करबाट सङ्कलित राजस्वबिनाको विकास सम्भव नहुने धारणा राख्नुभयो।