सोमवार, आषाढ १५ २०८३
काठमाडौं, असार १५ — त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आफ्ना सबै आंगिक क्याम्पसलाई क्याम्पसभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।
निर्देशनालयले आइतबार जारी गरेको निर्देशन पत्रमा विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशनअनुसार ६० दिनभित्र विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन र ९० दिनभित्र ‘Student Council/Voice of Student’ संयन्त्र विकास गर्न आग्रह गरिएको छ।
पत्रमा शिक्षा क्षेत्रमा बढ्दो दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज ओझेलमा पर्ने अवस्था तथा शैक्षिक गुणस्तरमा आएको गिरावटलाई सम्बोधन गर्न उक्त व्यवस्था कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका उपप्रशासक सन्देश कुमार रेग्मीद्वारा हस्ताक्षरित पत्रमा त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण आंगिक क्याम्पस प्रमुखलाई निर्देशन कार्यान्वयन गरी त्यसको जानकारी यथाशीघ्र निर्देशनालयमा पठाउन अनुरोध गरिएको छ। उक्त पत्रको बोधार्थ त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यालयमा समेत पठाइएको छ।
सरकारको यो कदमलाई विश्वविद्यालयभित्र दलीय प्रभाव न्यूनीकरण गर्दै विद्यार्थीको प्रतिनिधित्वलाई संस्थागत र गैरदलीय बनाउने प्रयासका रूपमा हेरिएको छ।
