बिहिवार, आषाढ १८ २०८३
काठमाडौं, असार १८ । सरकारले शिक्षा नियमावली (दसौँ संशोधन), २०८३ मार्फत विद्यालयमा विद्यार्थीमाथि हुने विभिन्न प्रकारका अपमानजनक तथा दण्डात्मक व्यवहारमा कडाइ गरेको छ। बिहीबार मन्त्रिपरिषद्बाट स्वीकृत नियमावलीले विद्यार्थीको सम्मान, सुरक्षा र अधिकारलाई प्राथमिकता दिँदै नयाँ व्यवस्थाहरू लागू गरेको हो।
संशोधित नियमावलीअनुसार अब विद्यालयहरूले विद्यार्थीको इच्छाविपरीत कपाल काट्न वा काट्न लगाउन पाउने छैनन्। अनुशासनको नाममा जबरजस्ती कपाल काट्ने वा कटाउन लगाउने अभ्यासलाई रोक लगाइएको छ।
नियमावलीको नियम २५ मा विद्यालय परिसर वा कक्षाकोठाभित्र विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने कुनै पनि गतिविधि सञ्चालन गर्न वा गराउन नपाइने स्पष्ट व्यवस्था गरिएको छ।
त्यसैगरी विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने, लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउने कार्य पनि निषेध गरिएको छ। लामो समयसम्म घाममा वा अन्य प्रतिकूल अवस्थामा उभ्याएर दण्ड दिने, आत्मसम्मान, मर्यादा, शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्ने कुनै पनि व्यवहार गर्न नपाइने उल्लेख गरिएको छ।
शुल्क नतिरेको कारण विद्यार्थीलाई सार्वजनिक रूपमा अपमानित गर्ने, भेदभावपूर्ण व्यवहार गर्ने, कक्षा वा परीक्षामा सहभागी हुनबाट वञ्चित गर्ने कार्यसमेत अब नियमविपरीत हुने भएको छ।
शिक्षा क्षेत्रका सरोकारवालाले नयाँ व्यवस्थाले विद्यालयमा विद्यार्थीमैत्री वातावरण निर्माण, बालअधिकारको संरक्षण तथा सम्मानजनक सिकाइ संस्कृतिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। शिक्षा नियमावली (दसौँ संशोधन) कार्यान्वयनसँगै विद्यालयहरूले अनुशासन कायम गर्ने नाममा हुने अपमानजनक तथा दण्डात्मक अभ्यास अन्त्य गर्नुपर्ने अपेक्षा गरिएको छ।