शुक्रवार, आषाढ १९ २०८३
काठमाडौं। अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदमा राजनीतिक नियुक्ति गरिएको भन्दै आपत्ति जनाएको छ। संगठनले उक्त नियुक्तिले विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता, संस्थागत स्वतन्त्रता र योग्यता प्रणालीमाथि गम्भीर असर पर्ने दाबी गर्दै निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेको छ।
अनेरास्ववियुले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा विश्वविद्यालय ज्ञान निर्माण, अनुसन्धान र बौद्धिक नेतृत्व उत्पादन गर्ने सर्वोच्च प्राज्ञिक संस्था भएकाले यसका सबै निकाय राजनीतिक प्रभावबाट मुक्त रहनुपर्ने आफ्नो स्पष्ट धारणा रहेको उल्लेख गरेको छ।
विज्ञप्तिमा सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष जस्तो विशुद्ध प्राज्ञिक पदमा सक्रिय दलीय राजनीतिसँग आबद्ध व्यक्तिलाई नियुक्त गरेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संगठनले यस्तो नियुक्तिले विश्वविद्यालयको संस्थागत गरिमा, प्राज्ञिक स्वतन्त्रता र सेवा आयोगको निष्पक्षतामाथि प्रश्न उठाएको उल्लेख गरेको छ।
अनेरास्ववियुले यस प्रकारको नियुक्तिबाट विश्वविद्यालयभित्र योग्यता र प्रतिस्पर्धाको संस्कृतिमा नकारात्मक असर पर्ने, प्राज्ञिक समुदायमा निराशा बढ्ने तथा विश्वविद्यालयप्रतिको सार्वजनिक विश्वाससमेत कमजोर हुने दाबी गरेको छ। विश्वविद्यालयका प्राज्ञिक निकायमा हुने नियुक्तिले विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा उल्टै विवाद र आशंका सिर्जना हुनु दुःखद भएको संगठनको भनाइ छ।
संगठनले नेपाल सरकार तथा सम्बन्धित निकायसँग उक्त निर्णय पुनर्विचार गर्न आग्रह गर्दै आगामी दिनमा विश्वविद्यालयका सबै प्राज्ञिक निकायमा योग्यता, क्षमता, निष्पक्षता र पारदर्शिताका आधारमा मात्र नियुक्ति सुनिश्चित गर्न माग गरेको छ।