शुक्रवार, आषाढ १९ २०८३
काठमाडौं, १९ असार — काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ मा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने सामुदायिक विद्यालय, शिक्षक तथा विद्यार्थीलाई नगदसहित पुरस्कार प्रदान गरेको छ।
राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनलगायतले पुरस्कार तथा सम्मान प्रदान गरे।

कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्न महानगरले विद्यालयको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन र शैक्षिक सुधारमा निरन्तर लगानी गरिरहेको बताइन् । शिक्षकले विद्यार्थीभित्र रहेको क्षमता पहिचान गरी आत्मविश्वास जगाउने भूमिका सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले शिक्षकको पेशागत मर्यादा र सम्मान बढाउन महानगर प्रतिबद्ध रहेको धारणा राखिन।
शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले शिक्षा नै समाजमा रहेको आर्थिक तथा सामाजिक असमानता अन्त्य गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै समतामूलक समाज निर्माणका लागि शिक्षामा लगानी बढाइएको बताए।

शिक्षा विभाग प्रमुख नमराज ढकालले २०७९ सालदेखि रोकिएको सम्मान कार्यक्रमलाई पुनः निरन्तरता दिइएको जानकारी दिँदै आगामी वर्षदेखि कक्षा १२ सम्मका विद्यालय, शिक्षक र विद्यार्थीलाई पनि सम्मान कार्यक्रममा समेटिने बताए।
कार्यक्रममा एसईईमा ४ जीपीए ल्याउने २९ जना सामुदायिक विद्यालयका विद्यार्थीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको थियो। साथै उत्कृष्ट नतिजा दिने विद्यालय तथा विषयगत शिक्षकलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो। त्यसैगरी आर्थिक वर्ष २०८२/८३ मा अनिवार्य अवकाश हुने ५० जना शिक्षकलाई सम्मान गरिएको महानगरले जनाएको छ। कार्यक्रममा शतप्रतिशत विद्यार्थी ग्रेडेड गराउने चार सामुदायिक विद्यालयलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ।
कार्यक्रममा एसईई र कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय, विषयगत शिक्षक तथा उत्कृष्ट औसत स्तरीकृत अंक प्राप्त गर्ने विद्यालयलाई नगदसहित पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा संस्थागततर्फ उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई सम्मानपत्र प्रदान गरिएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले उत्कृष्ट शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्दै सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, स्वस्थ प्रतिस्पर्धा र शिक्षाको समग्र सुधारलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो सम्मान कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।