आइतवार, आषाढ २१ २०८३
काठमाडौं। शिक्षा अभियन्ता अभिषेक घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई खुला पत्र लेख्दै शिक्षक सरुवा प्रणालीलाई सरल, स्वचालित, पूर्वानुमानयोग्य र नियमित बनाउन आग्रह गरेका छन्। उनले सरुवाको प्रक्रिया जटिल बन्दै जाँदा शिक्षकमा निराशा बढेको र यसले शिक्षण पेशाप्रति आकर्षण घटाउँदै लगेको बताएका छन्।
घिमिरेले शिक्षक सरुवा कहिल्यै पेचिलो विषय बन्न नहुने उल्लेख गर्दै जागिर पाउनुभन्दा सरुवा गराउन कठिन हुने अवस्था सिर्जना हुँदा अनावश्यक चलखेल बढ्ने र शिक्षकमा व्यापक असन्तुष्टि पैदा हुने बताएका छन्। "फ्रस्ट्रेटेड शिक्षकले जतिसुकै अब्बल भए पनि अपेक्षित उत्पादकत्व दिन सक्दैन," उनले पत्रमा उल्लेख गरेका छन्।
उनले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई शिक्षक सरुवासम्बन्धी अध्ययन गर्न आग्रह गर्दै स्थायी नियुक्ति पाएका शिक्षकसमेत किन आफ्नो पेशाप्रति असन्तुष्ट छन् भन्ने विषयमा अनुसन्धान आवश्यक रहेको बताएका छन्। उनका अनुसार यसबाट शिक्षकको मनोबल घट्नुका कारण र समाधान पहिचान गर्न सहज हुनेछ।
दुर्गम क्षेत्रमा नियुक्त भएका शिक्षकले निश्चित अवधि सेवा गर्नुपर्ने व्यवस्थालाई स्वाभाविक मान्दै घिमिरेले त्यसको स्पष्ट मापदण्ड आवश्यक रहेको बताएका छन्। उनले एउटै शिक्षकले वर्षौँसम्म दुर्गम क्षेत्रमा बस्नुपर्ने तर अर्कोतर्फ केही शिक्षक सधैँ सहरी क्षेत्रमा बस्न पाउने अवस्था न्यायोचित नभएको उल्लेख गरेका छन्। दुर्गममा सेवा गर्ने शिक्षकका लागि पर्याप्त दुर्गम भत्ता, प्रोत्साहन, मूल्याङ्कन र निश्चित अवधिपछि स्वचालित सरुवाको व्यवस्था हुनुपर्ने उनको माग छ।
घिमिरेले शिक्षा ऐनमा दीर्घकालीन सुधारका विषय समेट्न सकिने भए पनि शिक्षा नियमावली (दशौँ संशोधन) राजपत्रमा प्रकाशित हुनुअघि नै शिक्षक सरुवासम्बन्धी केही प्रावधान संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। सरुवाको प्रक्रिया पारदर्शी, स्वचालित र पूर्वानुमानयोग्य बनाउन सके मात्र शिक्षकमा बढ्दो निराशा हट्ने र शिक्षण पेशाप्रति आकर्षण कायम रहने उनको भनाइ छ।
उनले शिक्षकको मनोबल उच्च राख्ने, दुर्गम क्षेत्रमा सेवा गर्ने शिक्षकलाई उचित प्रोत्साहन उपलब्ध गराउने तथा निष्पक्ष र स्वचालित सरुवा प्रणाली लागू गर्न सरकारसँग आग्रह गरेका छन्।