आइतवार, आषाढ २१ २०८३
ललितपुर, असार २०। दिगो विकासका लक्ष्य हासिल गर्न सूचना प्रविधिको प्रभावकारी उपयोग र वित्तीय व्यवस्थापनलाई प्रविधिमैत्री, पारदर्शी तथा नवप्रवर्तनमुखी बनाउने उद्देश्यका साथ एकेडेमिया इन्टरनेसनल कलेज, ललितपुरमा ‘दिगो तथा नवप्रवर्तनमुखी वित्तीय व्यवस्थापनका लागि सूचना प्रविधिको एकीकरण (National Conference on Integrating Information Technology for Sustainable and Innovative Financial Management–NC–ITSIFM–2026)’ विषयक राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
एकेडेमिया इन्टरनेसनल कलेजको अनुसन्धान व्यवस्थापन कक्ष (Research Management Cell–RMC) ले जुलाई ४ मा आयोजना गरेको एकदिने सम्मेलनमा शिक्षाविद्, अनुसन्धानकर्ता, विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, उद्योग तथा बैंकिङ–वित्तीय क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनमा डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता (AI), बिग डाटा, ब्लकचेन, क्लाउड कम्प्युटिङ, फिनटेक, साइबर सुरक्षा र डिजिटल सुशासनजस्ता आधुनिक प्रविधिले वित्तीय व्यवस्थापनमा ल्याइरहेको परिवर्तन, त्यसका अवसर तथा चुनौतीबारे व्यापक छलफल गरिएको थियो।
कार्यक्रम बिहान सहभागीहरूको दर्ता र जलपानसँगै सुरु भएको थियो। त्यसपछि आयोजित उद्घाटन सत्रको सञ्चालन कलेजका शैक्षिक प्रमुख विश्व माथेमाले गर्नुभएको थियो। उद्घाटन समारोहमा कलेजका अध्यक्ष बोबी प्रधानको अध्यक्षता रहेको थियो भने अमेरिकास्थित क्रिस्टोफर न्युपोर्ट विश्वविद्यालयका प्राध्यापक डा. ज्ञान प्रधान प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। ललितपुर महानगरपालिका–७ का वडाध्यक्ष कुलबहादुर महर्जन, कलेजका क्याम्पस प्रमुख राजेश प्रसाद श्रेष्ठ, सञ्चालक समिति सदस्य धर्म महाराजन तथा अनुसन्धान व्यवस्थापन कक्षका प्रमुख डा. राजन बिलास बज्राचार्यलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा अतिथिहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो। दीप प्रज्वलन तथा राष्ट्रिय गानसँगै सम्मेलनको औपचारिक शुभारम्भ गरिएको थियो। उद्घाटन सत्रमा वक्ताहरूले अनुसन्धान, प्रविधि र नवप्रवर्तनलाई उच्च शिक्षाको अभिन्न अंगका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
स्वागत मन्तव्य राख्दै अनुसन्धान व्यवस्थापन कक्षका प्रमुख डा. राजन बिलास बज्राचार्यले सम्मेलनलाई केवल शैक्षिक कार्यक्रमका रूपमा नभई एकेडेमिया इन्टरनेसनल कलेजमा अनुसन्धान संस्कृतिको विकासतर्फको ऐतिहासिक सुरुआतका रूपमा व्याख्या गर्नुभयो। उहाँले उच्च शिक्षाले केवल कक्षाकोठामा सीमित ज्ञान प्रदान नगरी अनुसन्धान, नवप्रवर्तन, अन्तरविषयगत सहकार्य तथा समाजका जटिल समस्याको समाधान खोज्ने क्षमताको विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

नीति निर्माता, शिक्षाविद्, अनुसन्धानकर्ता, उद्योग क्षेत्रका विज्ञ तथा विद्यार्थीबीच अनुभव आदानप्रदान गर्ने साझा मञ्चका रूपमा सम्मेलन आयोजना गरिएको उल्लेख गर्दै उहाँले सूचना प्रविधिको तीव्र विकासले वित्तीय व्यवस्थापनको स्वरूप परिवर्तन गरिरहेको बताउनुभयो। कृत्रिम बुद्धिमत्ता, बिग डाटा विश्लेषण, ब्लकचेन, क्लाउड कम्प्युटिङ, फिनटेक तथा साइबर सुरक्षाजस्ता आधुनिक प्रविधिलाई दिगो वित्तीय अभ्याससँग जोड्न सके पारदर्शी, उत्तरदायी, प्रभावकारी र समावेशी वित्तीय प्रणाली निर्माण गर्न सकिने उहाँको भनाइ थियो।
डा. बज्राचार्यले अनुसन्धानका निष्कर्षहरू विश्वविद्यालयभित्र मात्र सीमित नरही उद्योग, सार्वजनिक नीति निर्माण तथा राष्ट्रिय विकासका लागि समेत उपयोगी हुनुपर्नेमा जोड दिनुभयो। उहाँले सहभागीहरूलाई प्राविधिक सत्रमा सक्रिय सहभागिता जनाउँदै ज्ञान आदानप्रदान, व्यावसायिक सञ्जाल विस्तार तथा अन्तरविषयगत सहकार्यलाई थप सुदृढ बनाउन आग्रह गर्नुभयो।
सम्मेलनमा प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले मुख्य वक्तव्य प्रस्तुत गरेका थिए। उनीहरूले डिजिटल रूपान्तरणले वित्तीय क्षेत्रलाई नयाँ दिशातर्फ अघि बढाइरहेको उल्लेख गर्दै प्रविधिको उपयोगलाई नैतिकता, सुशासन र दिगोपनासँग जोड्नुपर्नेमा जोड दिएका थिए। उनीहरूका अनुसार वित्तीय संस्थाहरूले आधुनिक प्रविधिको प्रयोगसँगै साइबर सुरक्षा, डेटा गोपनीयता र जनविश्वासलाई पनि समान प्राथमिकतामा राख्न आवश्यक छ।
सम्मेलनअन्तर्गत तीन समानान्तर प्राविधिक सत्र सञ्चालन गरिएका थिए, जहाँ सूचना प्रविधि, वित्तीय व्यवस्थापन, नवप्रवर्तन, डिजिटल बैंकिङ, फिनटेक, कृत्रिम बुद्धिमत्ता, डेटा विश्लेषण, ब्लकचेन प्रविधि, दिगो विकास तथा साइबर सुरक्षासम्बन्धी २० वटा छनोट भएका अनुसन्धानपत्र प्रस्तुत गरिएका थिए। प्रस्तुत शोधपत्रमाथि विज्ञ तथा सहभागीहरूबीच अन्तरक्रियात्मक छलफल समेत भएको थियो। प्रस्तुत अनुसन्धानहरूले व्यवहारिक वित्तीय व्यवस्थापन, प्रविधिमैत्री शासन प्रणाली तथा दिगो आर्थिक विकासका नयाँ सम्भावना उजागर गरेको आयोजकले जनाएको छ।
सम्मेलनको समापन सत्रमा आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, वक्ता, समीक्षक, अनुसन्धानकर्ता, शोधपत्र प्रस्तुतकर्ता, स्वयंसेवक, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीप्रति आभार व्यक्त गरेको थियो। सम्मेलनबाट प्राप्त निष्कर्ष र सुझावहरूले भविष्यमा अनुसन्धान, नवप्रवर्तन तथा दिगो वित्तीय व्यवस्थापनका क्षेत्रमा थप सहकार्य, नीतिगत बहस र अनुसन्धानलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिएको थियो।
एकेडेमिया इन्टरनेसनल कलेजले आफ्नो इतिहासमै पहिलो पटक आयोजना गरेको यस राष्ट्रिय सम्मेलनलाई अनुसन्धान संस्कृतिको विकास, शैक्षिक उत्कृष्टताको प्रवर्द्धन तथा सूचना प्रविधि र वित्तीय व्यवस्थापनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। कलेजले आगामी दिनमा यस्ता अनुसन्धानमूलक सम्मेलनलाई निरन्तरता दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्ने प्रतिबद्धता समेत जनाएको छ।