सोमवार, आषाढ २२ २०८३
काठमाडौं, असार २२। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त हुनुभएको छ। सम्माननीय प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ बमोजिम गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उहाँलाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो।
नेपाल सरकारको ‘विभिन्न विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ अनुसार प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई सिफारिस भएका प्रा.डा. थापाले आज (असार २२) कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ।

यसअघि काठमाडौं विश्वविद्यालयका उपकुलपति रहिसक्नुभएका प्रा.डा. थापा उच्च शिक्षा, अनुसन्धान तथा विश्वविद्यालय व्यवस्थापनमा अनुभवी शिक्षाविद् हुनुहुन्छ। उहाँले काठमाडौं विश्वविद्यालयमा रजिस्ट्रार, इन्जिनियरिङ संकायका डीनलगायत विभिन्न नेतृत्वदायी जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएको थियो। हाइड्रोलिक मेसिनरी तथा ऊर्जा प्रणालीका विज्ञका रूपमा परिचित उहाँले Norwegian University of Science and Technologyबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्नुभएको हो।
पदभार ग्रहणपछि आयोजित कार्यक्रममा बोल्दै प्रा.डा. थापाले त्रिभुवन विश्वविद्यालयको गौरव, शैक्षिक उत्कृष्टता र अन्तर्राष्ट्रिय प्रतिष्ठालाई थप सुदृढ बनाउन आफू पूर्ण समर्पणका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विश्वविद्यालयको विकासका लागि सरोकारवाला सबै पक्षको राय, सुझाव र सहकार्यलाई प्राथमिकता दिने बताउनुभयो।
कार्यक्रममा निवर्तमान उपकुलपति प्रा.डा. सुशील बहादुर बज्राचार्य, निमित्त शिक्षाध्यक्ष प्रा.डा. शंकर प्रसाद खनाल, निमित्त रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेलगायत विभिन्न अध्ययन संस्थान तथा संकायका डीन, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, निर्देशक, महाशाखा प्रमुख, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।