मंगलवार, आषाढ २३ २०८३
काठमाडौं, असार २३ — राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० ले एसईई २०८२ को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। असार १ देखि ९ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागीमध्ये ६४.६८ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन्।
बोर्डका अनुसार पूरक परीक्षाका लागि आवेदन दिन योग्य १ लाख ४६ हजार ५०७ परीक्षार्थीमध्ये १ लाख २९ हजार ११४ जना परीक्षामा सहभागी भएका थिए। तीमध्ये ८३ हजार ५२३ जना ग्रेडेड भएका छन्। यससँगै एसईई २०८२ को नियमिततर्फका ४ लाख ३० हजार ६६७ परीक्षार्थीमध्ये मूल र पूरक परीक्षा दुवैको नतिजा जोड्दा ३ लाख ६७ हजार ६८३ जना (८५.३७ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन्।
परीक्षा नियन्त्रण कार्यालयले ग्रेडेड हुन सफल सबै विद्यार्थीलाई बधाई दिँदै अवर्गीकृत भएका विद्यार्थीलाई आगामी परीक्षामा सफलताको शुभकामना व्यक्त गरेको छ। साथै परीक्षा सञ्चालनमा सहयोग पुर्याउने शिक्षक, अभिभावक, स्थानीय तह, राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश तथा जिल्ला परीक्षा व्यवस्थापन निकाय, शिक्षा तथा खेलकुद मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, सञ्चारमाध्यम तथा अन्य सरोकारवाला सबैप्रति धन्यवाद ज्ञापन गरेको छ।
कार्यालयका अनुसार परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० को वेबसाइट, विभिन्न वेबसाइट, IVR तथा SMS/USSD सेवामार्फत नतिजा हेर्न सक्नेछन्। नेपाल टेलिकम, राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी ग्रेडसिट डाउनलोड गर्न पनि सकिने व्यवस्था गरिएको छ।
प्रकाशित नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले असार २५ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत पुनर्योग (रीटोटलिङ तथा उत्तरपुस्तिका अवलोकन/पुनः परीक्षण) का लागि आवेदन दिन सक्नेछन्। यसैबीच, परीक्षाको मर्यादा विपरीत कार्य गरेको सिफारिसका आधारमा ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।