बिहिवार, आषाढ २५ २०८३
काठमाडौं, असार २५ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भोला थापालाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), विश्वविद्यालय क्याम्पस, कीर्तिपुरले विश्वविद्यालय सुधार, संस्थागत स्वायत्तता तथा विद्यार्थी हितका लागि २१ बुँदे सुझावपत्र बुझाएको छ।
सुझावपत्र हस्तान्तरण गर्दै स्ववियुले उपकुलपति थापालाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। साथै, २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भई हालसम्म पुनर्निर्माण हुन नसकेको त्रिभुवन विश्वविद्यालयको कान्ति ब्वाइज होस्टलको ‘ख’ ब्लक र वनस्पति विज्ञान भवनप्रति ध्यानाकर्षण गराउन प्रतीकात्मक रूपमा ती संरचनाको तस्बिर र क्याक्टससमेत हस्तान्तरण गरिएको छ।
स्ववियुले त्रिभुवन विश्वविद्यालयलाई समयानुकूल, प्रविधिमैत्री, अनुसन्धानमुखी, पारदर्शी तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी विश्वविद्यालयका रूपमा विकास गर्न सुझाव दिएको जनाएको छ।
सुझावपत्रमा विश्वविद्यालयमा PAMS V2 (Public Assets Management System) कार्यान्वयन गरी सम्पत्ति व्यवस्थापनलाई डिजिटल बनाउने, विश्वविद्यालयको सम्पत्तिको संरक्षण र अभिलेखीकरण गर्ने, शैक्षिक क्यालेन्डर पूर्ण रूपमा कार्यान्वयन गर्ने तथा परीक्षा प्रणालीलाई प्रविधिमैत्री र विकेन्द्रीकृत बनाउने प्रस्ताव समेटिएको छ।
त्यस्तै, प्रत्येक केन्द्रीय विभाग तथा आङ्गिक क्याम्पसमा नियमित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्ने, Research and Placement Cell स्थापना गरी विद्यार्थीलाई रोजगारी तथा इन्टर्नशिपसँग जोड्ने व्यवस्था मिलाउने, सेमेस्टर प्रणालीको परीक्षा व्यवस्थापनलाई थप व्यवस्थित बनाउने तथा भूकम्पबाट क्षतिग्रस्त सबै संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।
स्ववियुले केन्द्रीय छात्रवृत्ति पोर्टल स्थापना, विद्यार्थी गुनासो व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउने, विद्यार्थीका लागि स्वास्थ्य तथा जीवन बीमाको व्यवस्था गर्ने, पुनर्योग (Retotaling/Rechecking) प्रक्रियालाई विद्यार्थीमैत्री बनाउने, प्रदेशस्तरबाटै थेसिस मूल्याङ्कन गर्ने तथा विश्वविद्यालयको दीर्घकालीन मास्टर प्लान तयार गरी भौतिक पूर्वाधार विकास गर्नुपर्ने सुझाव पनि दिएको छ।
त्यसैगरी, पुस्तकालयलाई पूर्ण रूपमा डिजिटल तथा ई–रिसोर्समैत्री बनाउने, स्वतन्त्र Academic Audit निकाय स्थापना गर्ने, सम्बन्धन प्राप्त क्याम्पसहरूको नियमित मूल्याङ्कन गर्ने, अनुसन्धान, नवप्रवर्तन तथा आर्थिक आत्मनिर्भरतामा जोड दिने र विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक सरकारी बजेट सुनिश्चित गर्न पहल गर्न आग्रह गरिएको छ।
स्ववियुले त्रिभुवन विश्वविद्यालय कुनै समय ज्ञान–सिर्जना, अनुसन्धान र सामाजिक रूपान्तरणको केन्द्रका रूपमा स्थापित रहेको स्मरण गराउँदै विश्वविद्यालयलाई केवल डिग्री वितरण गर्ने संस्थामा सीमित हुन नदिन आग्रह गरेको छ। विश्वविद्यालय सुधारको अभियानमा विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा सबै सरोकारवालासँग सहकार्य गर्दै रचनात्मक भूमिका निर्वाह गर्न आफूहरू सदैव प्रतिबद्ध रहने स्ववियुले जनाएको छ।


