शुक्रवार, आषाढ २६ २०८३
काठमाडौं, असार २६ – २१३औँ भानुजयन्तीको अवसरमा एपेक्स लाइफ स्कुल र भानु प्रतिष्ठानको संयुक्त आयोजनामा उपत्यकाव्यापी अन्तर–विद्यालय स्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उपत्यकाका १५ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा काठमाडौं प्रज्ञाकुञ्ज स्कुलका शुभम श्रेष्ठ प्रथम, रिलायन्स इन्टरनेसनल स्कुलकी आलिया खड्का द्वितीय, रिपुमर्दिनी स्कुलकी चाँदनी कडरा तृतीय तथा डियर वाक स्कुलका आयान राई सान्त्वना स्थान हासिल गर्न सफल भए। विजयी विद्यार्थीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताको निर्णायकको भूमिका भानु प्रतिष्ठानका महासचिव पुरु लम्साल तथा सन्ध्या पहाडी र मनोज भण्डारीले निर्वाह गरेका थिए।

कार्यक्रममा समाजसेवी, साहित्यकार तथा नेपाल सरकारका पूर्व सचिव एवं पूर्व अर्थमन्त्री शंकरप्रसाद (एसपी) कोइरालालाई नेपाली भाषा, साहित्य र समाजसेवामा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै नगद पुरस्कार, सम्मानपत्र र दोसल्लासहित स्रष्टा सम्मान प्रदान गरिएको थियो। उक्त सम्मान विद्यालयका अध्यक्ष सुवास न्यौपाने, भानु प्रतिष्ठानका अध्यक्ष डीपी अर्याल तथा विशिष्ट साहित्यकार प्रा. डा. व्रतराज आचार्यले संयुक्त रूपमा प्रदान गरेका थिए।

सम्मान ग्रहणपछि बोल्दै कोइरालाले साहित्यले सिर्जनशीलता, कल्पनाशक्ति र सकारात्मक सोचको विकास गर्ने भएकाले विद्यार्थीहरूले साहित्यप्रति रुचि बढाउनुपर्ने बताए। उनले संस्कृत भाषाको अध्ययनले नेपाली साहित्यलाई अझ समृद्ध बनाउन सहयोग पुग्ने धारणा पनि व्यक्त गरे।
विशिष्ट साहित्यकार प्रा. डा. व्रतराज आचार्यले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई राष्ट्रिय एकताको आधार बनाएको उल्लेख गर्दै विद्यार्थीहरूले नेपाली भाषा, साहित्य र संस्कृतिलाई माया गर्नुपर्ने बताए। उनले भानुभक्तले संस्कृतमा अध्ययन गरे पनि नेपाली भाषामै रामायण लेखेर भाषिक एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गराए।

भानु प्रतिष्ठानका अध्यक्ष डीपी अर्यालले भानुभक्त आचार्यको रामायण नेपाली समाजको अमूल्य सम्पदा भएको उल्लेख गर्दै असल सिर्जनाले व्यक्तिलाई अमर बनाउने बताए। उनले देश–विदेशमा भानुभक्तका १५६ वटा शालिक स्थापना भइसकेको जानकारी दिँदै विद्यालयहरूले भाषा र साहित्य संरक्षणका यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा भानु प्रतिष्ठानका उपाध्यक्ष डा. रमेश सुभेक्षु, कविहरू इन्दिरा दाहाल र सदाशय गौतमसहित सन्ध्या पहाडी, मनोज भण्डारी तथा पुरु लम्सालले आफ्ना सिर्जना वाचन गरेका थिए। एपेक्स लाइफ स्कुलका विद्यार्थीहरूले रामायणमा आधारित लघु नाटिका प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।

एपेक्स लाइफ स्कुल र भानु प्रतिष्ठानले विगत २२ वर्षदेखि भानुजयन्तीका अवसरमा नेपाली भाषा तथा साहित्यमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ। कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका चण्डिका भेटवालले गरेकी थिइन्।

