आइतवार, आषाढ २८ २०८३
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (PABSON) चन्द्रागिरि नगर कार्यसमितिद्वारा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन (KUSOED) को सहकार्यमा आयोजित ‘Continuous Assessment System and Portfolio Development Orientation Program’ सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा चन्द्रागिरि नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख श्री बुद्धिप्रसाद भट्ट तथा विशेष अतिथिका रूपमा चन्द्रागिरि सामुदायिक विद्यालय समितिका अध्यक्ष श्री कविन्द्र गोपाली सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन (KUSOED) अन्तर्गत Department of Inclusive Education, ECD & Professional Studies का विभागाध्यक्ष डा. वासु प्रसाद सुवेदीले मुख्य सहजकर्ताका रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।
प्रशिक्षणका क्रममा मुख्य सहजकर्ता सुवेदीले निरन्तर विद्यार्थी मूल्याङ्कन (Continuous Assessment System) र पोर्टफोलियो विकासलाई विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने प्रभावकारी माध्यमका रूपमा व्याख्या गर्नुभयो।
उहाँले निरन्तर विद्यार्थी मूल्याङ्कनलाई परीक्षा वा अंक प्रदान गर्ने प्रक्रियामा मात्र सीमित नराखी विद्यार्थीको सिकाइ उपलब्धि, क्षमता, रुचि, व्यवहार तथा समग्र विकासको निरन्तर अभिलेखीकरण र विश्लेषण गर्ने प्रणालीका रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। डा. सुवेदीले पोर्टफोलियो विकासले विद्यार्थीको सिकाइ यात्रा, प्रगति, सिर्जनशीलता र उपलब्धिलाई प्रमाणसहित अभिलेख राख्न सहयोग गर्ने उल्लेख गर्दै कक्षाकोठामा शिक्षकले नियमित अवलोकन, परियोजना कार्य, प्रस्तुतीकरण, सिर्जनात्मक अभ्यास तथा प्रतिपुष्टिलाई मूल्याङ्कन प्रक्रियासँग जोड्नुपर्नेमा जोड दिनुभयो।

उहाँले राष्ट्रिय पाठ्यक्रमको मर्मअनुसार निरन्तर मूल्याङ्कन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षकको क्षमता अभिवृद्धि, विद्यालय व्यवस्थापनको सहयोग तथा अभिभावकको सकारात्मक सहभागिता आवश्यक रहेको बताउनुभयो। प्रशिक्षणका क्रममा सहभागी शिक्षकहरूसँग अन्तरक्रियात्मक छलफल, समूहगत अभ्यास तथा व्यवहारिक उदाहरणमार्फत पोर्टफोलियो निर्माण र निरन्तर मूल्याङ्कनका विभिन्न विधिबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
सहभागी शिक्षकहरूले प्रशिक्षणबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयको नियमित शिक्षण–सिकाइ प्रक्रियामा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
यसैगरी, कार्यक्रमलाई प्रभावकारी बनाउन सहजकर्ताका रूपमा श्रीमती मिन्जु शोभा चित्रकार, श्रीमती समिरा दाहाल र श्रीमती उमा सापकोटा ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
कार्यक्रममा चन्द्रागिरि नगर क्षेत्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, निजी विद्यालयका संस्थापक तथा प्राचार्य, विभिन्न विद्यालयका गरी २०९ जना शिक्षक–शिक्षिकाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सञ्चारकर्मीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको PABSON चन्द्रागिरि नगर कार्यसमितिले जनाएको छ।