शुक्रवार, श्रावण १ २०८३
काठमाडौं, साउन १। नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र 'मास्टर्नी' को प्रवर्द्धनात्मक (प्रोमोशनल) गीतप्रति गम्भीर आपत्ति जनाएको छ।
महासङ्घका महासचिव तुलाबहादुर थापा द्वारा जारी विज्ञप्तिमा सार्वजनिक गरिएको गीतमा महिला शिक्षकलाई लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको उल्लेख गर्दै यसले शिक्षक तथा शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको जनाएको छ।
महासङ्घले उक्त गीतलाई तत्काल सार्वजनिक प्रदर्शनबाट हटाउन र चलचित्रमा प्रयोग नगर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ। साथै, गीतलाई यथावत् राखेर सार्वजनिक गरिए त्यसबाट उत्पन्न हुन सक्ने असहज परिस्थितिको जिम्मेवारी चलचित्र निर्माता तथा सम्बन्धित कलाकारहरूले नै लिनुपर्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।
महासङ्घले शिक्षकको सम्मान र शिक्षण पेसाको गरिमा कायम राख्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गर्दै यस्ता सामग्री निर्माण गर्दा सामाजिक उत्तरदायित्व र संवेदनशीलतालाई ध्यान दिनुपर्नेमा जोड दिएको छ।